कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला भारतमा दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण देखिएको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख १५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । उपचारका लागि अक्जिनको अभाज दिल्लीमा नै देखिन थालेको छ । अक्सिजन अभावमा दिल्लीमा नै कोरोना संक्रमितको मृत्यु हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । 

संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई अरु देशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् ।