इटहरी। कोरोना महामारीको बीच पनि मोरङको सुन्दरहरंैचा नगरपालिकाभित्रका विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरूले परीक्षा सञ्चालन गराइरहेका हुन् ।  

जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरे पनि विद्यालयहरूले निषेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरूमा परीक्षा सञ्चालन गरिरहेका छन् । सुन्दर हरैंचा नगरपालिकाभित्रका सबै विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेको छ । 

 सरकारले अहिले कोभिड सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिए पनि सुन्दरहरैंचामा भने परीक्षा भइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् ।

सुन्दरहरैंचा–५ का सुमन क्षेत्रीले विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहँदा कोरोनाको जोखिम बढ्दै गएको बताए । विद्यालयहरूले गम्भीर गल्ती गर्दै आएको भन्दै तत्काल परीक्षा बन्द गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 

 शिक्षा निकेतन मावि सलकपुरका प्रधानाध्यापक ठाकुर सुवेदीले विद्यालयको परीक्षा आइतबारसम्म चल्ने बताए । ‘हामीले आज शनिबार पनि परीक्षा गरेका छौं’ प्रअ सुवेदीले भने, ‘भोलिसम्म परीक्षा छ हामी भोलिदेखि विद्यालय बन्द गर्ने तयारीमा छौं, परीक्षा गर्नु हाम्रो बाध्यता हो ।’  

सुबिजुमुर बोर्डिङ स्कुल विराटचोकका प्रिन्सिपल गोविन्द कार्कीले सुन्दरहरैंचामा चालु रहेको परीक्षा सञ्चालन गर्ने निर्णय भएकोले त्यही अनुरूप परीक्षा गर्दै गरेको बताए । ‘भोलि आइतबारसम्ममा परीक्षा सकिन्छ’ –उनले भने । सुन्दरहरैंचा क्षेत्रका सबै विद्यालयहरूमा अहिले परीक्षा भइरहेको उनको भनाइ थियो । 

 त्यस्तै साजिलाल माविका प्रधानाध्यापक कल्याणप्रसाद सिटौलाले सुन्दरहरैंचा क्षेत्रका विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेको बताए । ‘हाम्रो विद्यालयमा मात्र परीक्षा भएको हैन, नगरका सबै विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेको छ’ प्रअ सिटौलाले भने, ‘भोलि कक्षा ८ को परीक्षा छ अनि सकिन्छ ।’ 

यता सुन्दरहरैंचा नगरपालिकाकी शिक्षा अधिकृत लीला ओझाले १९ गतेसम्ममा सबै परीक्षा गरि सक्ने भनेर परीक्षा सञ्चालन भइरहेको बताइन् । एसईई बाहेकका विद्यालयले गर्ने सबै परीक्षा सुचारु भइरहेको सुन्दरहरैंचा शिक्षा शाखाकी अधिकृत ओझाले बताइन् ।

‘परीक्षा समितिले भन्दा पनि सर्वदलीय बैठकले परीक्षा गर्ने निर्णय गरेको हो, त्यही अनुरूप परीक्षा भइरहेको हो’–उनले भनिन् ।  एकातिर निषेधाज्ञा जारी भएको छ भने अर्कोतिर परीक्षा भइरहेको स्वयम् शिक्षा अधिकृत ओझा स्वीकार्छिन् ।