मोरङको बेलबारी–२ लालभित्तीस्थित शिक्षा सन्देश म्यानेजमेण्ट कलेजका प्रिन्सिपल राजेश खत्रीले एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

गत चैत १३ गते शैक्षिक भ्रमणका क्रममा प्रिन्सिपल खत्रीले १६ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

कलेज र स्थानीय नेताको दबावमा यौन दुर्व्यवहारको घटना एक महिनासम्म गुपचुप राखिएको थियो । पीडित बालिकाका आफन्त प्रिन्सिपल खत्रीलाई कारबाहीको माग गर्दै प्रहरीमा पुगेपछि सामाजिक  अगुवाहरूसहितको पञ्चायती बसेर गाउँमा घटना मिलात्रप गराउने प्रयास गरेको खुलेको छ । 

घटना मिलाउन भन्दै पटक–पटक छलफल बसेका थिए । घटना लुकाउन पीडित परिवारलाई दबाव दिने गरेका थिए । यौन दुर्व्यवहारको आरोप लागेका खत्री नेपाली काङ्ग्रेस बेलबारीको नगरसचिव भएका कारण जोगाउन काङ्ग्रेस र एमालेका नेताहरूले गाउँमै मिलाउन दबाव दिएका हुन् ।

शुक्रबार स्थानीय नेता कार्यकर्ता सहभागी भएको छलफलमा पीडित परिवारलाई गाउँमै घटना मिलाउन दबाव दिएका थिए । नेकपा (एमाले) ओली समूहका नेता प्रताप थापाले प्रहरीमा गए कुनै कारबाही नहुने बताउँदै गाउँमै घटना मिलाउन दबाव दिएका थिए ।

पीडित परिवारसँगको छलफलमा करिब आधा घण्टा बोलेका थापाले गाउँघरको कुरा बाहिर लैजान नहुने भन्दै पीडित परिवारलाई मिल्न दबाव दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ । आफन्त प्रहरी कार्यालयमा पुगेपछि पछिल्लो एकसातामा घटना मिलाउन भन्दै दुईपटक पञ्चायती बसेको छ । 

यस्तो छ घटना

कक्षा १२ को होटल म्यानेजमेण्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौं लगेको थियो ।

भ्रमणका क्रममा प्रिन्सिपल खत्रीले कक्षा १२ मा अध्ययनरत १६ वर्षीया ती छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । दुर्व्यवहार गरेका शिक्षकले घर फर्किएपछि पनि विद्यालयमा आफूमाथि दुर्व्यवहार गरेको बताएकी छन्  । 

शैक्षिक भ्रमणमा गएकी छात्रालाई शिक्षकले चैत १३ गते यौन दुर्व्यवहार गरेका थिए । अन्य विद्यार्थी घुम्न गएका बेला एक्लै बसेको अवस्थामा दुर्व्यवहार भएको पीडितले बताएकी छन् ।  

भ्रमणमा गएको टोली चैत १५ गते बिहान फर्किएको थियो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि दुर्व्यवहार गरेको पीडित छात्राका बाबुले बताए । कलेज सञ्चालक समितिको बैठकले प्रिन्सिपल खत्री र अनुशासन इञ्चार्ज रोशन परियारलाई कागज गरेर बर्खास्त गरेको छ ।

दुर्व्यवहार गर्ने प्रिन्सिपल बर्खास्त

छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका खत्रीलाई विद्यालय सञ्चालक समितिको बैठकले निष्कासन गरेको छ । १६ चैतमा सञ्चालक समितिको बैठकले खत्रीलाई निष्कासन गरेको हो । 

‘यस शैक्षिक संस्थाको प्रतिष्ठामा आँच आउने गरी नैतिकताहीन आचरण देखाएको तथा अनुशासनहीन काम गरेको देखिएको र छलफलमा उक्त व्यहोरा निजले स्वीकार गरेको हुँदा निजलाई यस शैक्षिक संस्थाको प्रिन्सिपल र शिक्षक पदबाट आजकै मितिबाट लागू हुने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ’ सञ्चालक समितिले गरेको निर्णयमा उल्लेख छ ।

कागजमा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने र सदस्यहरू माधवप्रसाद पोख्रेल, सीताराम न्यौपाने, शिवकुमार रूपाखेती र काउन्सिलर भूपाल बस्नेतको हस्ताक्षर छ । 

इलाका प्रहरी कार्यायल बेलबारीका प्रमुख इन्स्पेक्टर सरोज खनालले बालिकामाथि यौन दुर्व्यवहार भएको घटनाको उजुरी नआएको बताए ।

घटनाको विषयमा बाहिरी रूपमा जानकारी आए पनि पीडित परिवार उजुरी लिएर नआएको बताए । ‘घटनाको विषयमा मैले पनि पत्रपत्रिका पढेर थाहा पाएँ, हाम्रोमा उजुरी आएको छैन’ उनले भने, ‘जाहेरी आए अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।’


balika-balatkar-coolage-