कानून विपरीत छोटो समयमा महँगो ब्याज लिनेगरी ऋण दिने धन्दालाई ‘मिटरब्याज’ भन्ने चलन छ । सुरु–सुरुमा अवैध गतिविधि र तस्करीमा संलग्नहरूले सञ्चालन गर्ने यस्तो धन्दा अहिले सहरदेखि गाउँसम्म फैलिएको छ । मिटरब्याजको जालोले धेरै सर्वसाधारणको घरबार डुबेको छ भने कतिको ज्यानसमेत गएको छ । समाजमा जटिल समस्याका रूपमा दैनिक बढ्दै गएको मिटरब्याजको धन्दा नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

पछिल्लो समय सर्वसाधारणबाट मिटरब्याजका रूपमा करोडौं असुल गरी ठगी गरेको आरोपमा पक्राउ परेका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनले १७ जना सर्वसाधारणलाई ९२ लाख ८८ हजार कर्जा दिएर २ करोड ७० लाख ३१ रुपैयाँ असुली गरेको र अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ असुल्न खोजेपछि पीडितहरू प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानबाट उनले मिटरब्याज धन्दा चलाएको प्रमाणित भएपछि उनलाई जेल चलान गरिएको हो । उनले सर्वसाधारणबाट मिटरब्याजमा रकम असुल्ने र पैसा बुझाउन नसक्नेको जग्गा नै लिने गरेका थिए । उनले हालसम्म सर्वसाधारणका ४० कित्ता जग्गा आफ्नो नाममा पारेका थिए भने उनकी श्रीमती ज्योति रौनियारको नाममा ६० कित्ता जग्गा देखिएको छ । यसरी सामन्तप्रथाको नयाँ शैलीका रूपमा मिटरब्याज धन्दा चलाउनेहरू सहरमा धेरै भेटिन्छन् । त्यसलाई निरुत्साहित गरिनु आवश्यक छ । एउटा मन्टु त कानूनी दायरामा आए तर, यस्ता सयौं मन्टुहरू सहरदेखि गाउँसम्म फैलिएका छन् । त्यस्ता मान्छेहरूको सङ्ख्या बढ्दै जानु हाम्रो समाज र प्रहरी प्रशासनको कमजोरी उजागर हुनु हो र अपराधीहरूको मनोबल बढ्नु हो । त्यसले समाजलाई कता लैजान्छ भन्ने विश्लेषण गर्नु जरुरी छ । प्रदेश १ मा पनि मुख्य सहरदेखि गाउँ, टोलसम्म मिटरब्याजको जालो फैलिइरहेको छ । त्यो जालोमा परेर हजारौं व्यक्तिको सम्पत्ति डुबेको छ । अझै कतिको भागमा यस्तो समस्या पर्ने हो टुङ्गो छैन । किनकी मिटरब्याजको जालो फैलिने क्रममा छ । 

मिटरब्याजीहरूको सञ्जाललाई तोड्न पनि त्यति सजिलो छैन । समाजमा भित्रभित्रै विकराल रूपमा फैलिइरहेको यो धन्दाका विरुद्ध अब पनि गम्भीर बनेर नलाग्ने हो भने यसले जटिल समस्या निम्त्याउने निश्चित छ । यसका लागि प्रहरी प्रशासनदेखि स्थानीय सरकारसम्मले नीति बनाएर अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । विशेषगरी स्थानीय सरकारले सर्वसाधारणलाई यो धन्दा कानूनविपरीत हो भन्ने चेतना फैलाउनु जरुरी छ भने प्रहरी प्रशासनले कडाइका साथ यस्ता कारोबारी र धन्दावालाहरूलाई खोजी गरेर कानूनी कारबाहीको दायरामा ल्याउनु पर्छ । कतिपय ठाउँमा मिटरब्याजको धन्दा सञ्चालन गर्नेहरूको सेटिङ प्रहरी प्रशासनदेखि राजनीतिक दलका नेताहरूसम्म पनि फैलिएको सार्वजनिक भइसकेको छ । धन्दा सञ्चालन गर्नेहरू आफू सुरक्षित हुनका लागि प्रहरी प्रशासन, नेतादेखि गुण्डासम्म लगानी गर्न पछि पर्दैनन् । पैसाका अगाडि नतमस्तक हुने प्रहरी र नेताहरूकै कारण अपराधीहरूको जालो बलियो बन्दै गएको छ । सञ्जाल तोड्नका लागि यो सबैभन्दा ठूलो चुनौतीको विषय हो । यस्ता सञ्जालको प्रलोभनमा नपरी कानूनी कारबाही गरेर सर्वसाधारणलाई पीडित हुनबाट जोगाउनु आवश्यक छ ।