धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रिएको जनाएको छ ।

गत पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रजातीको भएको मन्त्रालयले पुष्टि गरेको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको थियो । तर कोरोनाको नयाँ प्रजाती हो वा होइन भन्ने खुलेको थिएन । उनीहरुको नमुना पुस २७ गते हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रजातीको भएको मन्त्रालयले जनाएको छ ।

नयाँ प्रजातीको कोरोना भाइरस संक्रमण हुनेहरुमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष छन् । उनीहरुमध्ये महिला र ३२ वर्षीय पुरुष कारोना मुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरुष भने अझै मुक्त भएका छैनन् । तर उनमा लक्षण नभएको मन्त्रालयले जनाएको छ ।