विराटनगर/ बालबालिकामा हुने आँखासम्बन्धी रोग ‘रेटिनोप्याथी अफ पिम्याच्युरोटी’ (आरओपी) को उपचार विराटनगरस्थित आँखा अस्पतालमा सुरु भएको छ ।

समय नपुग्दै जन्मिएका बच्चामा लाग्ने रोगलाई ‘आरओपी’ भनिन्छ । समय नपुगी जन्मेका बच्चाहरूको आँखामा आरओपीको समस्या देखिन थालेपछि यसको उपचार सुरु गरेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रक्षा पन्तले जानकारी दिइन् । उनका अनुसार सामान्यतया गर्भ रहेको ९ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ तर, सबै बच्चा ९ महिना पूरा भएपछि नै जन्मन्छन् भन्ने हुँदैन । कतिपय बच्चा समय नपुग्दै जन्मिन सक्छन् ।

कहिले सात–आठ महिनामा त कहिले ६ महिनामै पनि बच्चा जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चाको स्वास्थ्यमा धेरैखाले समस्या हुन्छ । यसरी जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ । उनीहरूको तौल पनि कम हुन्छ । १५ सय ग्राम तौल भएका बच्चालाई ‘हाई रिस्क बेबिज’ भनिने चिकित्सकहरूको भनाइ छ ।

‘समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या (रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी आरओपी) पनि एक हो’ विराटनगर आँखा अस्पतालका दृष्टि पर्दा नेत्ररोग विशेषज्ञ डा. ललित अग्रवालले भने, ‘कम तौल भएका, जन्मेपछि अक्सिजन लगाएर राख्नुपर्ने बच्चामा आँखाको पर्दामा समस्या हुन्छ । यसको उपचार चाँडै सर्न सकिए दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।’

यो जन्मजात समस्या भने होइन, बच्चा जन्मेपछि हुने समस्या हो । सामान्यतया समय पुगेर जन्मिने बच्चामा पनि आँखाको पर्दा विकास हुन थप एक महिना लाग्छ । समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरूमा दृष्टिविहीन हुने चिकित्सकहरूको भनाइ छ ।

यसरी हुन्छ आरओपीको उपचार
अस्पतालका दृष्टि पर्दा नेत्ररोग विशेषज्ञ अग्रवालका अनुसार गम्भीर प्रकारको आरओपी भएका बिरामीको लेजरमार्फत् उपचार गरिनुपर्ने बताए । ‘प्रायःजसो साधारण प्रकारको आरओपी आफै सञ्चो हुने गर्दछ’ डा. अग्रवालले भने, ‘गम्भीर प्रकारको आरओपी बिरामी भएमा लेजरमार्फत् उपचार गर्नुपर्ने हुन्छ । लेजर भनेको असामान्यरूपमा बढेका रक्तनलीहरूलाई बढ्नबाट रोक्न प्रयोग गरिन्छ ।

बिरामीको अवस्थामा गम्भीर भएकामा यसको उपचार शल्यक्रियामार्फत् पनि गरिन्छ ।’ यो अस्पतालमा डा. अग्रवालको नेतृत्वमा आरओपीको उपचार गर्ने टिम रहेको छ । नोभेम्बरदेखि विराटनगर आँखा अस्पतालमा आरओपीको उपचार भएको हो । हालसम्म १३ जना बालबालिकाको आँखामा आरओपी देखिएपछि उपचार भइरहेको अस्पतालले जनाएको छ ।