विराटनगर । प्रतिबन्धित औषधीसहित पक्राउ परेका एक जना आरोपी ‘हाजिर जमानत’ मा छुटेका छन् ।

भारतदेखि तस्करी गरि प्रतिबन्धित औषधी ल्याएको आरोपमा पक्राउ परेका विराटनगर – १३ का ३६ वर्षिय नरेश यादवलाई औषधी व्यवस्था विभाग विराटनगरले बोलाएको बेला उपस्थित हुने गरि हाजिर जमानतमा छोडिदिएको हो ।

मोरङ प्रहरीबाट खटिएको टोलीले प्रतिबन्धित चार कार्टुन औषधीसहित ८ मंसिरमा यादवलाई पक्राउ गरेको थियो । सिआरबी जतुवाको टोलीले यादवको घरमा भण्डारण गरिएको अवस्थमा ‘रमडिसिभि’ इन्जेक्सनसहितका औषधी व्यवस्था विभागमा दर्ता नभएका प्रतिबन्धित औषधीहरू बरामद भएको थियो । उनको घरबाट तस्करीको औषधी बरामद भएपछि यादवलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि ९ मंसिरमा औषधी व्यवस्था विभाग विराटनगरलाई बुुझाएको थियो ।

प्रहरीले बुझाए लगत्तै विभागले ९ मंसिरमा पक्राउ परेका यादवलाई मोरङ अदालतमा ‘प्रतिबन्धीत औषधीको पैठारी तथा ओसार पोसार’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको थियो । विभागका प्रमुखसहितका कर्मचारीहरूलाई एक जना संघिय संसदसहितका केही नेता र व्यवसायीहरूले दवाब दिएपछि यादवलाई अदालतमा उपस्थित भएको बखत उपस्थित गराउने सर्तमा आइतबार छोडेको स्रोतको दाबी छ ।

आरोपी यादवलाई छुटाउन प्रहरीले पक्राउ गरेको दिनदेखि तस्करीमा संलग्न गिरोहको प्रभावमा परेर एक जना नेकपाका केन्द्रीय तहका नेता र केही व्यवसायी लागि परेका थिए । उद्यपी मोरङ प्रहरीले चर्को दबावको विच पनि ओरोपीलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागलाई बुझाएको थियो । प्रतिबन्धित औषधी सम्बन्धी मुद्दा औषधी व्यवस्था विभागले अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्दछ । तर, यसरी आरोपलाई हाजिर जमानतमा छोडेर विभागले अनुसन्धान नगर्दा प्रतिवादीले प्रमाण लोप गराउनसक्ने कानुन व्यवसायी बाताउँछन् ।

यता औषधी व्यवस्था विभाग विराटनगरले यस घटनामा अुसन्धान भइरहेकोले मुख्य व्यक्तिलाई पक्राउ गरिन प्रतिवादीलाई बोलाएको बेला उपस्थित हुने गरि हाजिर जमानतमा छोडेको जानकारी दिएको छ । अहिले नै यो मुद्दा टुंगामा नपुगेकोले अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै आएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । ‘कसुर गरेका व्यक्तिलाई कसैको दबावमा प्रतिवादीलाई छोडन सकिदैन,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान प्रक्रिया रहेको विषय पूरा नभइकन अहिले केही भन्न मिल्दैन ।’

तस्करीको औषधी मगाउने फरार
नरेश यादवलाई प्रयोग गरि तस्करी गरि औषधी मगाउने स्वास्थ्य क्षेत्रमा व्याक्ति रहेको औषधी व्यवस्था विभागको अनुसन्धानबाट खुलेको छ । भारतदेखि तस्करी गरि विराटनगरसम्म प्रतिबन्धित औषधी ल्याउने यादवले निश्चित रकम पाउने गर्दछ । कति रकम यादवले पाउथे त्यो अहिले नै नखुलेको बुझिएको छ ।

प्रतिबन्धीत औषधी मगाउने व्यक्त फरार छन् । विभागले ती व्यक्तिलाई पक्राउ मोरङ प्रहरीलाई पत्रचार गर्दा पनि अहिलेसम्म पक्राउ परेका छैनन् । यादवलाई तस्करीको औषधी मगाउने स्वास्थ्य क्षेत्रमा व्यक्ति रहेको औषधी विभागको अनुसन्धानबाट खुलेको छ । उनी ग्रामिण क्षेत्रमा बसोवास गरि विराटनगरसहितका अन्य स्वास्थ्य क्षेत्रको हव भएको ठाउँमा तस्करीको औषधी कारोबार गर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरीले तस्करीको औषधी मगाउने व्यक्ति पक्राउ गरि नसकेको कारणले ती व्यक्तिको नाम गोप्य राखेको छ ।

८ मंसिरमा मोरङ प्रहरीले विराटनगर – १३ सैनिक टोलका नरेश यादवको घरदेखि १० भाइल रेमडिसिभिर इन्जेक्सन, औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ सहितका चार कार्टुन विभिन्न नाम गरेको औषधी बरामद गरेको थियो । बरामद गरेको रेमडिसिभर इन्जेक्सन भारतमा भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी गरि कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको देखिएको छ । जानकारका अनुसार रेमडेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधि व्यवसायी र स्वास्थ्य क्षेत्रका जानकार व्यक्तिको संलग्न छ ।