भद्रपुर/ झापामा १ सय ४४ किलोमिटर खुला सीमाक्षेत्र छ । ती क्षेत्रहरूका मुख्य नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा पोष्टहरू स्थापना भएका छन् । नाकाबाट प्रहरीलाई छलेर कारोबारीले बिना भन्सार अवैध सामान नेपाल भित्र्याउँदै आइरहेका छन् ।

तर, पछिल्लो समय अन्य नाकासँगै झापाको उत्तरी क्षेत्र तिरिङ, सारु गौंडा, देवीगञ्जलगायतका नाकाबाट हुने अवैध धन्दामा सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । विगतका वर्षहरूमा सो क्षेत्रबाट सशस्त्र प्रहरीले थोरै मात्र सामान बरामद गरी न्यून राजस्व सङ्कलन गरेको थियो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बाहुनडाँगीको विगत केही वर्षयताको तथ्याङ्कले तस्करी बढेको देखाएको छ भने चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्कले राजस्वमा वृद्धि गरेको पुष्टि गरेको छ ।

प्रहरीले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७४/७५ मा २ लाख ६७ हजार ९ सय ४० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ०७५/७६ मा ७ लाख ५० हजार ६ सय ४४ रुपैयाँ उठाएको प्रहरीले गत आर्थिक वर्ष ०७६/७७ मा भने केही कम भई ७ लाख ११ हजार १ सय ५५ सङ्कलन गरेको उल्लेख छ । यता चालु आर्थिक वर्षको भदौदेखि मङ्सिर १४ सम्ममा २३ लाख ९० हजार २ सय ५५ रुपैयाँ राजस्व सङ्कलन गरिसकेको बाहुनडाँगी बीओपीका इन्स्पेक्टर भीष्म सापकोटाले बताए ।

बीओपीमा ०७६ भदौ महिनामा कार्यभार सम्हालेपछि अवैध गतिविधि रोक्नका लागि अभियान नै बनाएर लागिपरेपछि सामान बरामद गरिएको उनको भनाइ छ । अभियान अन्तर्गत भदौमा ३ लाख २० हजार १ सय २५ रुपैयाँ, असोजमा ५ लाख १२ हजार ७ सय ५० रुपैयाँ, कात्तिकमा ३ लाख ९७ हजार ४ सय ३० रुपैयाँ सङ्कलन गरिएको उनले जनाए । यी क्षेत्रबाट सुपारी, मटर, लत्ताकपडा, सुर्तीजन्य पदार्थको तस्करी हम्ुदै आएको उनले बताए । प्रहरीले सक्रियता देखाएपछि हाल सो क्षेत्रबाट तस्करी बन्द भएको उनको दाबी छ ।

सो क्षेत्रबाट ओरियन्स कम्पनीका सामानहरूको अवैध धन्दा हुने गरेको गस्ती टोलीले फेला पारेपछि आइतबार बिहान ११ बजे ११ लाख २३ हजार मूल्य बराबरको सामान बरामद गरिएको उनको भनाइ छ । भारतबाट टाउकोमा राखेर नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर भागेपछि मेचीनगर नगरपालिका–१ स्थित देवीगञ्ज इलाकाबाट सामान बरामद गरिएको उनले जनाए ।

बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जानकारी दिए । झापाका सबै नाकाहरूमा सशस्त्र प्रहरीको सक्रियता रहेको सशस्त्र प्रहरी गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले बताए । बाहुनडाँगी क्षेत्रबाट उल्लेखनीय मात्रामा राजस्व सङ्कलन भइरहेको उनको भनाइ छ ।

surti