धरान । गाई मारेको अभियोगमा मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

घरायसी विवादको क्रममा रिसको आवेगमा दाजुले भाइले पालन गर्दै आएको गाईमाथि हथौडा प्रहार गरी मारेका थिए । जुम्ल्याहा दाजुभाइमध्येका ३० वर्षीय दाजु भूपेन्द्र राईले ३० वर्षीय भाइ गजेन्द्र राईको गाई मारेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच घरायसी विवादको क्रममा आक्रोसित भूपेन्द्रले हथौडा प्रहार गरेर १८ महिनाको गाई मारेका थिए ।

गाई मारेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई हथौडासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।