धरान । बलात्कारको अभियोगमा थुनामा रहेका कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई तारेखमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतको शुक्रबारको आदेशसँगै गिरी जिल्ला अदालतबाट मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल थुनामा बस्नुपर्नेछ।
थुनामा राख्न विराटनगर उच्च अदालतले गरेको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
सर्वोच्च अदालतले गत असोज २२ गते गिरीको मुद्दामा कैफियत’ प्रतिवेदन झिकाउन आदेश दिएको थियो । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासको आदेश अनुसार गिरी पुर्पक्षका लागि थुनामा छन्। उक्त आदेशविरुद्ध गिरीले सर्वोच्चमा निवेदन दिएका थिए।
सुनसरीको बराहक्षेत्र–१, चतरामा आश्रम सञ्चालन गरेर बसेका गिरीमाथि उनकै एक अनुयायी महिलाले बलात्कारको आरोप लगाउँदै २०७६ मंसीर ८ मा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले गत वर्ष मंसीर १६ मा पक्राउ गरेको थियो ।
गिरी विरूद्ध पुस १० मा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो। तर, जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले पुस १४ मा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए। गिरीलाई ७ देखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको माग गरिएको थियो।
पक्राउ परेपछि स्वास्थ्य समस्या भएको भन्दै उनी हिरासत छल्न अस्पताल बसेका थिए। जिल्ला अदालतको आदेश विरूद्ध सरकारी वकीलको कार्यालयले गिरीलाई थुनामै राख्नुपर्ने मागसहित र गिरीले आफूसँग ३ लाख रुपैयाँ धरौटी माग्न नमिल्ने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए।
तर, उच्च अदालतले धरौटीमा राख्ने जिल्ला अदालतको आदेश उल्टाउँदै गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।