विराटनगर । हत्या मुद्दामा मुछिएका विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादब धरौटिमा रिहा भएका छन् ।

मोरङ अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई बिहीबार तीन लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका हुन् ।

विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी वडाअध्यक्षलाई अदालतले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम सोही दिन बुझाएर तारखेमा छुटेका छन् । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी यादवल हत्या आरोप लागेपछि ढेडवर्षदेखि फरार थिए । प्रहरीको तिव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोवास गरेको कारणले उनी पक्राउ परेका थिएनन । बिहीबार कार्यालय समयमा सुटुक्क अदालतमा यादव उपस्थित भएका थिए । सोही दिन भएको थुनछेक बहसपछि अदालतले यादवलाई धरौटिमा छोडन आदेश दिएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २६ असार २०७६ मा मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीन जना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेका तीन जनप्रतिनिधिमध्ये २ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । घटना भएको घरका घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष यादवलाई भने धरौटीमा छाडेको हो ।
गत १४ जेठमा अदालतमा उपस्थिति भएका विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह र गत २४ माघमा हाजिर भएका जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीपचन्द्र यादवलाई भने थुनामा राख्ने आदेश दिएको थियो ।

७३ नंम्बर गरेपछि उच्च अदालत विराटनगरले प्रदीपचन्द यादवलाई जिल्लाको आदेश बदर गर्दै १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । साहको हकमा भने जिल्लाको आदेश सदर गरेको थियो । सोही मुद्दाका प्रतिवादी दिपश यादव पनि २०७७ असार १८ गते सर्वोच्च अदालतको आदेशले साधरण तारेखमा छुटेका थिए ।
समानन्द हत्या प्रकरणमा जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदीप यादव, विराटनगर महानगरपालिका १८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर– १४ का अध्यक्ष बलदेव यादव, बलदेवका छोरा रविन, भतिज दीपेश, छिमेकी विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवविरुद्ध किटानी जाहेरी परेको थियो ।

समानन्दका छोराको विवाहको विषयमा विवाद हुँदा वडा अध्यक्ष यादवको घरमा भेला भएको पञ्चायतीले समानन्दमाथि कुटपिट गरेको थियो । कुटपिट भएको एक महिनापछि उनको कोशी अस्पताल विराटनगररमा मृत्यु भएको थियो ।