धरान ।

‘रिन्केबुङको राँगालाई चुंकेबुङको

चुलेसीले ताप्लेजुङमा ताकेर....

अरुण तमोर तरौला तिते फापर छरौंला

फुल लाउँला केससरी, खाउँला बेस्सरी’

यो लोकप्रिय गीतका गायक सुरेश गान्धर्व विरामी भएपछि अस्पताल भर्ना गरिएको छ । ६५ बर्षीय गन्धर्व लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप र युरिक एसिडका कारण थलिएपनि उपचार खर्च अभावले घरैमा बस्दै आएका थिए । उनी धरान ८ वरगाछीस्थित एकघरमा कोठाभाडामा आफ्ना परिवारसहित बस्दै आएका छन् ।

गायक गन्धर्व विरामी भएको जानकारी पाएपछि धरानका रंगभूमि नाट्य संस्थाका निर्देशक कलाकार विष्णु मोक्तान, नेकपा धरानका इन्चार्ज चोत्लुङ लगायतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका हुन् । मोक्तानले भने, ‘सुरेश दाइको स्वास्थ्य अवस्था खराव भएको जानकारी पाएपछि केही साथीहरुसंग सल्लाह गरेर उपचारकालागि वीपी प्रतिष्ठानमा भर्ना गरेका छौं । उनको उपचारकालागि आर्थिक अभाव भएकाले सहयोगको यचना पनि गरेका छौं ।’

गायक गन्धर्वलाई प्रतिष्ठानको इमर्जेन्सी कक्षमा सोमबार भर्ना गरेपछि थप उपचारकालागि मंगलबार विहान ट्रपिकल वार्डमा सारिएको छ ।

पैत्रिक सम्पतीको नाममा एउटा पुरानो सारंगीमात्र रहेका गन्धर्वले गीत गाउदै आफ्नो र परिवारको जीवीका चलाउदै आएका थिए । प्रतिष्ठानको ट्रपिकल वार्डको वेड नम्बर ४ मा भर्ना भएका गन्धर्वले टेलिफोन सम्पर्कमा भने, ‘पाँच छ बर्षदेखि मुटु, उच्च रक्तचाप, थाइराइड र मधुमेहले च्यापे पछि पहिले जस्तो कार्यक्रमहरुमा पनि जान सकिन । उपचार खर्च पनि जुटाउन सकिन । आर्थिक अभावले उपचारै नपाई मरिएला जस्तो छ ।’

जीवनभरी जीवीकाकै लागि गीत गाउदै आएका गन्धर्वको पुख्र्यौली थलो भोजपुरको जरायोटार माङ्दीम हाल अरुण गाउपालिका हो । ०४९ सालमा बसाई सरेर धरान झरेपनि आर्थिक उपार्जन गर्न नसकेका गन्धर्वको एक श्रीमति, एक छोरा एक छोरी र नाति नातिनासहित बरगाछी नजिकै बस्दै आएका छन् ।

विभिन्न रोगले थलिएका गन्धर्वले भने, ‘आर्थिक अभावकै कारण उपचार त गर्न सकिन नै घरभाडा नतिरेको पनि पाच छ महिना भयो । श्रीमति पनि मुटु रोगी छिन् । छोरा छोरीहरुको आयश्रोत गतिलो छैन ।’

अस्पताल भर्नाकालागि पहल गरेका चोत्लुङले लोकगायक गन्धर्वको स्वास्थ्य अवस्था सँगै घरको आर्थिक अवस्था पनि नाजुक भएकाले सहयोगको खाँचो रहेको बताए । उनी भन्छन्‘उनको उपचार गर्दा अस्पतालमा लाग्ने खर्च छुट गराउन पहल गरिरहेका छौ । तर औषधी भने प्रतिष्ठानले उपलव्ध गराउन नसक्ने भएकाले बाहिरबाट किन्नुपर्ने अवस्था छ । यसको लागि सहयोग जुटाउनुपर्ने देखिएको छ ।’ विरामी गन्धर्वलाई भेटेर सहयोग गर्ने बचन धरान उपमहानगरपालिकाका उपमेयर मन्जु भण्डारी सुवेदीले पनि दिएकी छन् । उपमेयर सुवेदीले भनिन्, ‘लोक गायक गन्धर्वको उपचारकालागि व्यक्तिगत रुपमा र उपमहानगरपालिकाको तर्फबाट पहल र सहयोग गर्ने छौं । साथै उहांको परिवारलाई खाद्यान्न पनि उपलव्ध गराउने पहल गरिरहेका छौं ।’

प्रतिष्ठानको ट्रपिकल वार्डमा भर्ना गर्न मेडिसिन विभागका प्रमुख तथा मुटु एवं मृगौला रोग विषेशज्ञ प्राडा संजिव शर्माले पनि पहल गरेका थिए ।

तस्वीरहरू ः रंगकर्मी विष्णु माेक्तानकाे फेसबुकबाट साभार

sures gandharb

such