धरान । धरानबाट लागूऔषध ब्राउनसुगर खरिदका लागि झापाको काँकडभिट्टा पुगेका दुईसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर नगरपालिका–७ बाट खरिद गर्ने र बिक्री गर्ने चारजनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले आइतबार अपरान्ह ४ बजेतिर भाडाको घरमा लागूऔषध बिक्री गरिरहकेो सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिक्री वितरण गर्दै गरेको अवस्थामा सीताराम आङ्देम्बे, उनका पत्नी मनिषा मगर पक्राउ परेका हुन् । त्यस्तै खरिकर्ता धरान–५ का २४ वर्षीय कल्याण राई र धरान–१६ का २४ वर्षीय रिजन लकान्द्री रहेका छन् ।

उनीहरूको साथबाट २८ ग्राम ब्राउनसुगरसहित एक लाख ३३ हजार रुपैयाँ नगद र ३ थान मोबाइल सेट बरामद गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरू विरुद्ध लागूऔषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।