धरान/ झापा दमककी सेलिया श्रेष्ठ र नम्रता दाहाल ग्लोबल टिन हिरोको उत्कृष्ट २० मा पर्न सफल भएका छन् ।

श्रेष्ठ दमकस्थित सप्तरङ्गी एफएममा कार्यक्रम प्रस्तोताको रूपमा कार्यरत छिन् भने दाहाल बालबालिकाको हकअधिकारमा आवाज उठाउँदै आइरहेकी छन् । ग्लोकल प्रालिको आयोजनामा बर्सेनि हुँदै आएको ‘ग्लोबल टिन हिरो’ प्रतिस्पर्धाको उत्कृष्ट २० मा उनीहरू परेका हुन् ।

ग्लोबलले देशभरिका १५ देखि २० वर्ष उमेर समूहबीच ‘समाजमा गरेको कार्यका आधारमा मूल्याङ्कन’ गर्दै छनौट गर्ने गरेको छ । देशभरबाट छनौट भएका ६ सय ४ प्रतिस्पर्धीमध्येबाट उनीहरू छनौट भएका हुन् । श्रेष्ठले सप्तरङ्गी एफएममा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।

बालबालिकाको हकअधिकारको क्षेत्रमा बोल्दै आएका उनीहरू टप ६ मा पर्नका लागि अहिले कसरत गरिरहेका छन् । टप ६ बाट एकैपटक विजेता घोषणा गरिने आयोजक संस्थाले जनाएको छ । संस्थाले पछिल्लो पाँच वर्षयतादेखि कार्यक्रम गर्दै आइरहेको छ ।