बेलबारी/मोरङको सुन्दरहरैंचा नगरपाकलिकामा देशकै नमुना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण भएका छन् ।
नगरपालिका क्षेत्रभित्र आठ वटा शौचालयसहितको पुस्तकालय बनाउने अभियान अन्तर्गत दुई स्थानमा निर्माण गरिएको शौचालयसहितको पुस्तकालयको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । सुन्दरहरैंचाको विराटचोक र सलकपुरमा नमुना शौचालय निर्माण भएका हुन् ।
उद्घाटन गर्दै मुख्य मन्त्री राईले एउटा महाअभियान सुन्दरहरैंचाबाट सुरु भएको र अब अन्य क्षेत्रले पनि सुन्दरहैँचाबाट सिक्नुपर्ने बताए । सुन्दरहरैचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित तथा सार्वजनिक शौचालय निर्माण महाअभियानद्वारा निर्मित सार्वजनिक शौचालय तथा पुस्तकालयको मुख्यमन्त्री राईले प्रशंसा गरे । उनले निजी क्षेत्रको सहकार्यबाट मात्रै सरकार अगाडि बढ्न सक्ने बताए ।
सुन्दरहरैंचाको खोर्साने, हरैंचामा, बलिया, गछिया र गोठगाँउमा निर्माणधीन अवस्थामा रहेको र मृगौलियामा बन्ने तयारीमा रहेको छ । शौचालय निर्माण थालिएको हरैंचा र मृगौलिया बाहेक अन्य ६ स्थान पूर्वपश्चिम राजमार्गमा पर्छन् । सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालयसहितको सुविधाहरू हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए ।
स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधीन शौचालयका लागि झण्डै ४० प्रतिशत रकम सुन्दरहरैंचा नगरपालिकाले लगानी गरेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । बाँकी ६० प्रतिशत रकम स्थानीयबासीले श्रोत जुटाएको निर्माण समितिले जनाएको छ ।
शौचालयको उक्त भवनमा इन्टरनेटको सुविधासहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्षसमेत रहेका छन् । सार्बजनिक यातायातलाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि सुविधा समेत रहेको छ । राजमार्गमा निर्माणाधीन दुई तले शौचालयको भुइँ तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेको छ र पहिलो तलामा अडियो भिडियो सुविधासहितको आधुनिक पुस्तकालय रहेको छ । २०७४ माघबाट निर्माण सुरु गरिएको हो ।