धरान । धरानमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । फेरि आज बिहान ११३ जना संक्रमित थपिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यो तथ्यांक सोमबार इलाका प्रहरी कार्यालय धरान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइएको स्वाबको पीसीआर परीक्षण पछिको हो । सोमबार एन्फामा ४९ जनाको स्वाब संकलन गरिएकोमध्ये २७ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
अन्य भने बीपी प्रतिष्ठानको हेल्प डेस्कबाट संकलन गरिएको स्वाबको रिपोर्ट हो । एन्फामा मंगलबार २१९ जनाको स्वाब संकलन गरिएको छ । जसको परिणाम साँझसम्म आइपुग्ने जनाइएको छ । आइतबारको स्वाब संकलनबाट बीपी प्रतिष्ठान र एन्फा गरी १९७ जनालाई कोरोना भएको पुष्टि भएको थियो ।