विराटनगर  / सामुदाय स्तरमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको विराटनगरमा १५ दिन दिन भित्रमा १ हजार शैय्याको भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न माग गरिएको छ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि यस्तो माग राखेका हुन् ।

प्रदेश १ को राजधानी विराटनगर सहित अन्य अस्पतालहरूमा रहेको कोभिड अस्पतालहरूको भेन्टिलेटर न्यून रहेको छ । भएको भेन्टिलेटर पनि भरिएको छ । विपक्षी दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्कीले १ हजार शय्याको कोभिड अस्पताल प्रदेश सरकारले तत्काल निर्माण गर्न जोड दिए ।

नेता कोरालाले चौतर्फी सङकटका बेला प्रदेश सरकार उदासीन र एकलकाँटे भएको आरोप लगाए । ‘लकडाउनको समयमा प्रदेश सरकारले भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्ने प्रयाप्त समय थियो,’

उनले भने, ‘सरकार कोरोना रोकथाम र नियन्त्रणमा उदासिन भयो ।’ उनले प्रदेश सरकारले विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउन पनि चुकेको बताए । नेता कोइरालाले विषम परिस्थितिमा प्रदेश सभामा सरकारले जनताका आवाज सुन्नुपर्ने भएकोले तुरुन्त हिउँदे अधिवेशन बोलाउन माग राखेका छन् । साउन ९ गते प्रदेशको बजेट अधिवेशन समाप्त गरिएको जानकारी दिदै उनले हिउँदे अधिवेशन तुरुन्त सञ्चालन गर्न आग्रह गरे ।

प्रदेश सभाका प्रमुख सचेतक कार्कीले कोभिड नियन्त्रण र रोकथाममा भन्दा पनि प्रदेश सरकार सभा, समारोहको उद्घानमा व्यस्त हुन थालेको बताए । ‘ भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेशमा कोभिड–१९ का बिरामीहरू घरघरमै छटपटाएर मरिरहेका छन्, उनले भने, ‘प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन । मुख्यमन्त्री र अन्य मन्त्रीहरू सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन् ।

प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करूणा देखिएको छैन ।’ उनले प्रदेशको राजधानी विराटनगर कोरोनाको हट स्पट भन्दा पनि रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले चासो नदेखाएको आरोप लागाए । ‘दिनानुदिन कोराना संक्रमित बढेका बढे छन्,’ उनले भने, ‘सरकारी कार्यक्रम र समारोह होस् वा गुदरी, शहर, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको ख्याल भएको छैन ।

मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन् । अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ ।’

कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए ।

उनले प्रदेशमा कोभिड–१९ का बिरामीले सामान्य न्यूनतम उपचारसमेत नपाउने अवस्था उत्पन्न भएको उल्लेख गरे । कार्कीले नोबेल, न्यूरो र विराट जस्ता निजी क्षेत्रका अस्पतालका भेन्टिलेटर यहाँका बिरामीका लागि अपर्याप्त भएको स्पष्ट पारे । ‘अत्यधिक बहुमतप्राप्त प्रदेश सरकारबाट हामीले गरेको अपेक्षा चकनाचुर भएको छ ।

प्रदेशका नागरिक कोरोनाको संक्रमणबाट कोही मरून् वा बाँचुन् त्यसको मतलब मुख्यमन्त्री र अन्य कुनै मन्त्रीलाई छैन । प्रदेशको नागरिक उपचार नपाएर आफ्नै घर वा डेराको आइसोलेसनमा अत्यन्त दयनीय र पीडादायी रूपमा मर्न बाध्य छन् तर पनि सरकारको आँखा खुलेको छैन । प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव पनि भएको होइन ।

अभाव त कार्यशैलीको, कार्यक्षमताको र योग्यताको देखिएको छ ।’
प्रदेश १ मा सोमबारसम्म कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ । मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ ।