धरान । प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री कुसियत कन्ट्याक्ट ट्रेसिङ (सम्पर्क व्यक्ति) का रूपमा रहेपछि स्वाब संकलन गरी पीसीआर गरिएको थियो । झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा पाहुनासँग ट्रेसिङमा परेका थिए । मन्त्रीको सचिवालय स्रोतका अनुसार आज बिहान उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

असोज २१ गतेको कार्यक्रममा सहभागी हुनका लागि असोज २० गते मेची क्राउन पुगेका थिए । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना पोजेटिभ देखाएको थियो । मन्त्री कुसियत उनीसँगै रहेका थिए । असोज २१ गते पोर्तेलको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएसँगै कार्यक्रम स्थगित गरिएको थियो । त्यसयता मन्त्री कुसियत होम आइसोलेसनमा रहेका थिए । तर, रिपोर्ट नेगेटिभ आएपछि उनी ढुक्क बनेका छन् ।