पथरीशनिश्चरे/ उनमा गायनको भोक कत्ति पनि कम भएको छैन । घरव्यवहार धान्ने मेसोमा उनको गायकीले निरन्तरता पाउन नसकेको बेला फेरि गायनमा पुनः उत्साह भरिएको छ ।

मोरङको पथरीशनिश्चरे–२ का जन्तरे मामा भनेर चिनिने ४८ वर्षीय गायक अमितकुमार राईमा गायकीको पुनर्जागरण भएको छ । उनको निबासका लागि सर्जकहरू नै जुट्न थालेपछि उनी खुसी छन् । ‘कला साहित्य प्रवद्र्धन समिति’ र लर्ड बुद्ध सहकारी संस्थाबाट संयुक्तरूपमा गायक राई सम्मानित भएपछि उनमा उत्साह थपिएको हो । नगरप्रमुख दिलिपकुमार राई, कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज सिवा, सचिव रोहित पराई, सहकारीका व्यवस्थापक गणेश बछाना राईले ५ हजार नगदसहित सहकारीको शेयर सदस्यको प्रमाणसहित सम्मान प्रदान गरे । २ नम्बर वडा कार्यालयको तर्फबाट वडाध्यक्ष यामप्रसाद गुरागाईं र सदस्य अरूणा राईले ५ हजार रकम सम्मानस्वरूप उपलब्ध गराए ।

उनको घर निर्माणका लागि सहयोग समिति गठन भएको अवस्थामा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईंले सहयोग समितिलाई सहयोग गर्ने, तत्काल जस्तापाता उपलब्ध गराउने वचन दिए । कला, साहित्य प्रवद्र्धन समितिले वृत्तचित्र निर्माण गरिदिने भएको छ । स्वरसम्राट नारायण गोपालले गाएका गीतहरू गाउन मन पराउने उनको कलाबारेमा युट्युब च्यानलहरूमा प्रसारण भएपछि उनी एकाएक भाइरल बने । जस अनुरूप विदेशमा रहनेहरूले समेत सहयोग गर्ने इच्छा प्रकट गरे । पथरीशनिश्चरेकै गायक तथा सङ्गीतकार गौरव दर्पणले उनलाई सङ्गीतको पक्षमा गाइड गरेपछि गीत रेकर्डिङको कार्य अघि बढ्यो ।

शुभेच्छुकहरूकै सहयोगमा उनका लागि गोपालचन्द्र राईको शब्द र तोरेम्पाको सङ्गीतमा ‘फूलै फूलको सौगात तिमीलाई’ बोलको गीत पहिलो पटक रेकर्ड भएको छ । दोस्रो गीत गायिका एलिना चौहानसँगको स्वरमा कृष्ण उदासीको शब्द, बादल लिम्बूको सङ्गीत एरेञ्जको ‘साँचेर राख’ गाएर रेकर्ड भइसकेको छ । योसँगै उनको जीर्ण अवस्थाको झुप्रे घर निर्माणका लागि स्थानीय सर्जकको अगुवाइमा सिर्जनाप्रेमीहरू जुटेका छन् । उनका समकालीन र एउटै वडाका गायक धनराज राई अमिरको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन भएको छ । जसमा सचिवमा सन्तोष राई, कोषाध्यक्षमा कुमार राई, सदस्यहरूमा देव गुरूङ, गौरव दर्पण, किशोर श्रेष्ठ, जमुना राई, ईश्वर दुलाल र करण धिताल रहेका छन् । धनराजले तत्काल उनलाई गिटार उपलब्ध गराएका छन् ।

आफ्नो रुचिको क्षेत्रमा आफू फर्कन पाउनु मात्र होइन, आफ्नो स्वरमा गीत रेकर्ड गरिदिएपछि जन्तरे औधी खुसी छन् । ‘यो बेला आएर यस्तो खुसी प्राप्त होला भन्ने लागेको थिएन, म ज्यादै खुसी छु । गीत–सङ्गीत मेरो प्राण हो, यसमा फेरि रमाउन पाएँ, अरूलाई पनि यसैमा प्रोत्साहित गर्छु’ उनले खुसी हुँदै भने, ‘कलामा अब्बल अवस्थाका हाम्रो साथीको अवस्थालाई उजागर गर्न मात्र होइन, उनको बसोबासको बन्दोबस्त गर्नु हाम्रो कर्तव्य ठानेर यो अभियानमा जुटेका छौं’–धनराजले भने ।