धरान/ हालै स्वर्गीय भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको पुरानो चर्चित गीत ‘उनको प्रिती पहिले हो कि’ नेपाल आइडलबाट चर्चामा आएका प्रवीण बेडवाल र रचना रिमालको स्वरमा पुनः बजारमा आएको छ ।

२०६० सालमा पहिलो पटक जगदीश समाल र सपना श्रीको स्वरमा रेकर्ड भएको यो गीतलाई यसका सङ्गीतकार नारायण रायमाझीले प्रवीण र रचनाको स्वरमा नयाँ भर्सनका रूपमा सार्वजनिक गरेका हुन् ।

नयाँ भर्सनको यो गीत श्रोताहरूले बढी रुचाएका छन् । गीतको भिडियो युट्युबमा सार्वजनिक भएको तीन दिनमा झण्डै ८ लाख दर्शकले हेरिसकेका छन् । राष्ट्रकवि घिमिरेले २०२४ वैशाख १२ मा यो गीत रचना गरेका थिए । जगदीश र सपनाश्रीले गाएको पुरानो भर्सनको गीत पनि पहिले नै चर्चित थियो ।