बराहक्षेत्र । नेपालमा अहिलेसम्मकै ठूलो पुरस्कार राशी दाबी गरिएको टिकटक प्रतियोगीतामा उत्साहजनक सहभागीता देखिएको छ ।

बराहक्षेत्र नगरपालिका स्थित सदाबहार मिडियाले भदौ १३ बाट सुरु गरेको टिकटक प्रतियोगीतामा हालसम्म देशका ४० जिल्लाबाट ३ सय भन्दा बढि र विदेशबाट १५ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतिष्पर्धीले भदौ २८ सम्म भिडिओ पठाई सक्नु पर्ने छ । सहभागीताका लागि प्रतिष्पर्धी आफैंले एकल अभिनय गरेको १५ सेकेन्ड भन्दा लामो भिडिओ पठाउनु पर्नेछ । तर राष्ट्रिय स्वाभिमान, अखण्डता, एकता, भाइचारा र राष्ट्रियतामाथि आँच आउने भिडियोलाई प्रतियोगीतामा समावेश नगरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन ईच्छुकले एक सय रुपैंया आवेदन शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।

यसरी सहभागीहरु मध्येबाट उत्कृष्ठ सय छानिने छ । त्यसबाट भ्युजको आधारमा उत्कृष्ट २० छनौट गरिने छ । त्यसपछि उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र विजेताहरु भोटिङको आधारमा छानिने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १ लाख ५० हजार, दोस्रो हुनेलाई नगद १ लाख र तेस्रो हुनेलाई नगद ५० हजार सहित ५ लाखको जीवन बिमा गरिने आयोजक सदाबहार मिडिया प्रालिका अध्यक्ष विजय राउतले बताए ।