पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ बाट पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरस देखिएको छ ।

भदौ १७ गते स्वाब संकलन गरी परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा २ पुरुषमा कोरोना देखिएको रिपोर्ट शनिवार प्राप्त भएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए ।

उनले वडा नम्वर १ का ३७ र ४६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाए । उनीहरुको अवस्था भनें हालसम्म सामान्य रहेको छ ।

यसअघि ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा परीक्षणमा पठाइएका समुदायका ७७ र क्वारेन्टिनका ५ गरी ८२ जना सबैको रिपोर्ट भनें नेगेटिभ आएको थियो ।

समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि लकडाउनलाई निरन्तरता दिँदै संक्रमितको सम्पर्कमा रहेकाहरुको २ दिनमा गरी स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो ।

यस अघि एकजना भारतीय सहित १५ जनामा कोरोना देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।