विराटनगर/ विराटनगरका दुइ जना कोरोना भाइरसबाट संक्रमित बनेका महिलाको मृत्यु भएको छ ।

एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

कोशी अस्पतालमा शुक्रबार साझ मृत्यु भएकी विराटनगर ४ कि ६४ वर्षीय महिलाको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल लगिएको थियो ।

कोरोनाको आशङ्कामा स्वाब संकलन गरि आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेकोमा साँझ ७ः३० बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगर ११ कि ४३ वर्षीया कोरोना संक्रमीत महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालबाट रेफर भएकी महिलाको साझ ६ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताईएको छ । मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्युरोले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो ।