- अमर काफ्ले
इनरुवा/ सुनसरीका कुल कोरोना सङ्क्रमितमध्ये ५३ दशमलव ९ प्रतिशत कोरोनामुक्त बनेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा स्वाब सङ्कलन गरी परीक्षण गरिएकामध्ये ५३ दशमलव ९ प्रतिशत अर्थात् ३ सय ४६ जनाले कोरोना जितेका हुन् । भदौ १५ गते दिउँसोसम्मको प्राप्त रिपोर्टअनुसार जिल्लामा कुल सङ्क्रमित ७ सय ६ जना रहेका छन् । जसमा जिल्ला बाहिरबाट स्वाब सङ्कलन गरिएकामध्ये सुनसरी ठेगाना भएका ६४ जना पोजेटिभ सङ्ख्या समावेश छ । सुनसरीमा मात्रै २१ हजार ८ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
जसमध्ये ६ सय ४२ जना सङ्क्रमित पाइएको कोरोना सम्पर्क अधिकारी सिर्जना लिङ्थेपले बताइन् । सुनसरीको धरानका ५ जना सङ्क्रमितको ज्यान गएको छ । उनका अनुसार सुनसरीमा प्रति एक हजार जनसङ्ख्याको ० दशमलव ७९ प्रतिशतमा कोरोना देखिएको छ । मृत्युदर भने ० दशमलव ७८ प्रतिशत रहेको छ । कार्यालयका अनुसार पीसीआर परीक्षणको अनुपातमा जिल्लाको सङ्क्रमित दर भने ३ दशमलव २२ प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा सबैभन्दा बढी सङ्क्रमित धरानमा रहेका छन् । धरानमा १ सय ६४ सङ्क्रमित रहेका छन् । ९२ जना निको हुँदा धरानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६७ रहेको छ । इटहरीमा सक्रिय सङ्क्रमित ८० रहेका छन् । इटहरीमा कुल सङ्क्रमितको सङ्ख्या १ सय ३७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी वराहक्षेत्रमा १६ जना सङ्क्रमितमध्ये १२ जना निको भएका छन् । इनरुवाका ५५ जना पोजेटिभमध्ये १५ जना निको हुँदा ४० जना आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी दुहबीमा कुल सङ्क्रमितको सङ्ख्या १ सय २७ रहेका छन् । दुहबीका ४३ जनाले कोरोना जितेका छन् । दुहबीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ रहेको छ । यस्तै रामधुनीमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । त्यहाँका २१ जना निको भइसकेका छन् । कोशी गाउँपालिकामा अहिले सम्म ४० जना सङ्क्रमित रहेका छन् । सोमध्ये २४ जना निको हुँदा १६ जना आइसोलेसनमा छन् । दक्षिणवर्ती गाउँपालिका हरिनगरका ३४ सङ्क्रमितमध्ये २० जना निको भएका छन् भने बाँकी आइसोलेसनमा रहेको स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् ।
यसैगरी भोक्राहा नरसिंहमा २५ जनामा सङ्क्रमण पुष्टि हुँदा त्यहाँका १८ जना निको भएका छन् । देवानगञ्जमा २२ जना सङ्क्रमित रहेका छन् । जसमध्ये १५ जना निको हुँदा अन्य आइसोलेसनमा छन् । गढी गाउँपालिकाको २४ कोरोना पोजेटिभमध्ये ७ जना निको हुँदा १७ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी सुनसरीको बर्जुमा अहिलेसम्म ३४ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
जसमध्ये १७ जना निको भएका छन् भने बाँकी आइसोलेसनमा रहेको श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार सुनसरीमा देखिएका सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङलाई समेत निरन्तरता दिइएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार जिल्लामा सञ्चालनमा रहेका संस्थागत आइसोलेसनमा बसेकाको सङ्ख्या २ सय ५७ छ । सङ्क्रमितमध्ये १ सय ३ जना भने स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेका छन् ।
यद्यपि सङ्क्रमित भएकाहरूमध्ये निको हुनेको सङ्ख्यासमेत बढ्दो क्रममा छ । प्रसाईंले भने, ‘कोरोनाको जोखिम दिनानु दिन बढ्दो क्रममा छ । त्यसैले भौतिक दूरीसहितको स्वास्थ्य सावधानी अपनाउन नभुल्नुहोस् । कोरोनाबाट बच्ने उपाय सावधानी नै हो ।’