धरान/ नेपालमा समुदायस्तरमा कोरोना फैलिएयताकै उच्च सङ्क्रमित सङ्ख्या मङ्गलबार थपिएको छ । नेपालमा पहिलो पटक चार अङ्कमा कोरोना सङ्क्रमित थपिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्मकै उच्च १ हजार १६ जनामा कोरोना देखिएको छ । यसअघि साउन १९ गते सबैभन्दा बढी सङ्क्रमित देखिएका थिए । हालसम्म नेपालमा तीन अङ्कमा मात्रै कोरोना सङ्क्रमित थपिँदै आएकोमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिनमा देखिएको यो सङ्ख्या हालसम्मकै उच्च रहेको बताए । योसँगै कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ ।

यता मङ्गलबार अद्यावधिक गरिएको तथ्याङ्कमा देशभरि ७ जनाको कोरोनाका कारण ज्यान गएको छ । मृत्युमध्ये ६ पुरुष र एक महिला छन् । उनीहरू मोरङ, धनुषा, नवलपरासी, काभ्रे, तनहुँ र बाँकेका हुन् । कुल मृतकको सङ्ख्या १ सय १४ पुगेको छ । देशभरि १० हजार ५ सय ६३ जना सक्रिय सङ्क्रमित रहेको प्रवक्ता डा. गौतमले नियमितको प्रेस सम्मेलनमा बताए ।

सङ्क्रमितमध्ये २ हजार ८ सय ८७ जना घरकै आइसोलेसनमा रहेका छन् भने बाँकी ६ हजार ७ सय ५२ जना संस्थागत आइसोलेनसमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या प्रदेश २ र बाग्मती प्रदेशमा रहेको छ । शुक्रबारयता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको थियो ।

मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार शुक्रबार ५ सय ९४ जना सङ्क्रमित थपिएकोमा शनिबार ४ सय ६८, आइतबार ६ सय ४१ र सोमबार ५ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश १ को मोरङमा मात्रै मङ्गलबार १ सय ८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको स्वाब सङ्कलन गरिएको थियो । पछिल्लो २४ घण्टामा ८५ जना कोरोनामुक्त बनेर घर फर्किएका छन् भने कुल सङ्ख्या १७ हजार ५ सय ८० रहेको छ । यो कुल सङ्क्रमितको ६२ दशमलव २ प्रतिशत हो ।

प्रदेश १ मा पनि हालसम्मकै उच्च
प्रदेश १ मा मङ्गलबार १ सय ३९ जना सङ्क्रमित थपिएका छन् । मोरङमा मात्रै एक सय ५ जना छन् भने झापामा २०, सुनसरीमा ६, सङ्खुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका दुईमा कोरोना देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पनि हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित पुष्टि भएको हो । जसमा ४२ महिला र ९७ पुरुष छन् । प्रदेश १ मा हालसम्म २ हजार २ सय ३२ जना सङ्क्रमित पुगेका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या १ हजार एक सय ३३ पुगेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै मङ्गलबार ९६ जना सङ्क्रमित भएको पाइएको छ । जसमध्ये ४२ जना सुरक्षाकर्मी रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार १० महिलासहित ४२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो । प्रहरीमा कोरोना सङ्क्रमण दर उच्च बन्दै गएपछि प्रहरी प्रधान कार्यालयले घरबाटै काम गर्न सक्ने गरी व्यवस्था गरेको छ । प्रदेशमा हालसम्म ८७ जना प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिसकेको छ ।

धरानमा नेगेटिभ देखिएकालाई कोरोना पोजेटिभ
वैदेशिक रोजगारी अन्तर्गत दुबईबाट फर्किएका धरान–१३ का एक युवाको परिवारका दुई सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको क्वारेण्टिनमा रहेका युवामा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

तर, पुनः जाँच गर्दा उनमा पोजेटिभ देखिएपछि क्लोज कन्ट्याक्टमा रहेका परिवारमा कोरोना देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार क्वारेण्टिनमा जाँच गर्दा नेगेटिभ (सङ्क्रमण नभएको) पाइएपछि घर पठाइएको थियो । पोजेटिभ देखिनेमा ६७ वर्षीय वृद्ध र २६ वर्षीया महिला रहेकी छन् । ती महिला दुबईबाट फर्किएका युवाको श्रीमती हुन् भने वृद्ध बुबा हुन् ।

त्यस्तै धरान–७ घर भएकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक नर्समा पनि कोरोना पोजेटिभ देखिएको छ । धरानमा मङ्गलबार तीन जनामा कोरोना देखिएको हो । यो पछिल्लो समयको सबैभन्दा कम हो ।