भद्रपुर / जिल्ला तथा छिमेकी स्थानीय तहका समुदायमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भद्रपुर नगरपालिकाले चासो देखाउदै थप कडाइ गर्ने भएको छ । नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरी यस्तो गर्ने भएको हो ।

कार्यपालिकाले गरेको निर्णयानुसार राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थानीय तहबाट गर्नु गराउनु भनी कार्यक्रम शुरु भएको हुँदा कोरोना भाइरस सङक्रमणको जोखिम दिनानुदि बढ्दो अवस्थामा रहेकोले वडा – वडा कार्यालयहरुमा साउन २७ गतेबाट सञ्चालनमा रहेको कार्य हाललाई स्थगन गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने, नगरभित्र साप्ताहिक रुपमा लाग्ने हाटबजारमा मानिसहरुको चहलपहल बढी भएको र सदरमुकाममा बिभिन्न पालिकाहरुबाट आवागमन हुने हुनाले सङ्क्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना उच्च रहेको हुँदा साउन ३१ गते शनिबारदेखि भदौ २० गतेसम्मका लागि साप्ताहिक रुपमा लाग्ने हाटबजार बन्द गर्ने, नगरपालिका भित्र रहेका औषधी पसल तथा स्वास्थ्य संस्थाहरु तथा अत्यावश्यक सेवासुबिधा बाहेक सम्पूर्ण होटल, मदिरा बिक्री कक्ष लगायत व्यापार व्यवसायहरु पनि भदौ २० गतेसम्मका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

यस्तैे भद्रपुर नगरपालिका भित्र बाहिरी मुलुकबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने तथा मालसामान ढुवानीका साधनहरुलाई निर्मलिकरण गरी मात्र सञ्चालनमा ल्याउन र समुदायमा चालकलगायत मानव सम्पर्क नहुने व्यवस्था मिलाउन भद्रपुर भन्सार कार्यालय भद्रपुरलाई अनुरोध गर्ने, नगरपालिका भित्र रहेका कोभिड १९ सङ्क्रमण सम्बन्धी रहेका सूचना तथा सन्देशहरुलाई प्रवाह गर्नका लागि छुट्टै वेव पेज बनाई सूचना प्रवाह गर्ने ,कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना भाइरस सङ्क्रमण हुने जोखिम उच्च रहेकोले नगरपालिका कार्यालयका कार्यरत सम्पूर्ण कर्मचारीहरु तथा जनप्रतिनिधीहरुको कोभिड बिमा नगरपालिकाले गरिदिने र कोभिड १९ सङ्क्रमण बढीरहेको हुँदा सोको व्यवस्थापनका लागि नगर प्रमुख जीवनकुमार श्रेष्ठज्यूको संयोजकत्वमा १७ सदस्यहरु रहने गरी कोभिड १९ जोखिम ब्यबस्थापन नगर समिति गठन गर्ने निर्णय गरिएको मेयर जीवनकुमार श्रेष्ठले जनाए ।

समितको सदस्यहरुमा, उपमेयर चन्द्रमाया श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ,वडा अध्यक्षहरु भिम बहादुर सुब्बा, गौरब सुब्बा रहेका छन् । त्यसैगरी सामाजिक विकाश समिति संयोजक मित्रा भट्टराई, बिपद् वाताबरण समिति संयोजक ममता लिम्बू , सामाजिक विकाश शाखा जीवनकला राउत ,कोभिड १९ फोकल पर्सन मनोज भट्टराई ,शिक्षा युवा खेलकुद शाखा प्रेमबहादुर भुजेल ,असई,नगर प्रहरी चन्द्र प्रधान , भद्रपुर वडा प्रहरी प्रमुख , नेकपा नगर अध्यक्ष शिबकुमार राजभण्डारी नेपाली काङ्गे्रस नगर सभापति मोहन महर्जन ,राप्रपा नगर अध्यक्ष राधा कार्की , सत्रुघन चौधरी र अर्पण पौडेल रहेको श्रेष्ठले जानकारी दिए ।