भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको छ । यसअघि ३२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको मेचीनगरमा एक चिकित्सकसहित थप चार जना स्थानीयमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका २९ वर्षीय एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै मेचीनगर १० बस्ने १५ वर्षीय युवक र उनका परिवारका दुई सदस्यमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

परिवारका सदस्य दुई मध्ये एक २५ वर्षीय महिला र अर्का १३ वर्षीय बालक रहेका छन् । त्यस्तै मेचीनगर ७ बस्ने २८ वर्षीय एक पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ । समुदायस्तरमा गरिएको स्वाब सङ्कलन पश्चात् आएको पिसीआर रिपोर्टमा उनीहरूमा सङ्क्रमण देखिएको हो । गत साउन २४ गते शनिबार धुलाबारी माविमा गरिएको स्वाब सङ्कलन रिपोर्ट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बुधबार आएकोमा चार जनामा पोजेटिभ देखिएको हो । मेचीनगर १० का १५ वर्षीय युवामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि समुदाय स्तरमा स्वाब सङ्कलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन नवीन बरालले जानकारी दिए ।

मेचीनगर नगरपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । समुदायस्तरसँगै चिकित्सकसहित एकै पटक चार जनामा कोरोना सङ्क्रमण देखिए पछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मका लागि लगडाउन गर्ने निर्णय गरेको पालिकाले जनाएको छ । सङ्क्रमण रोग ऐन २०२० को दफा २ अनुसार एक हप्तालाई लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख विमल आचार्यले बताए ।