एजेन्सी / दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या बढेर गएको छ । हालसम्म पाँच लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

स्वास्थ्यमन्त्री ज्वेली म्किजेले शनिवार १०,१०७ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या ५,०३,००० पुगेको घोषणा गरेका हुन्। तीमध्ये ८,१५३ जनाको मृत्यु भएको छ। अफ्रिका महादेशमा कोरोनाभाइरस सङ्क्रमणबाट दक्षिण अफ्रिका अतिप्रभावित देश हो। पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्।

अमेरिका, ब्रजिल, रुस र भारतपछि विश्वभरि धेरै सङ्क्रमित हुने देशमा पाचौँ स्थानमा दक्षिण अफ्रिका पर्छ। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण फैलिने दर बढिरहेको र अहिले राजधानी प्रिटोरियावरपर सङ्क्रमितको सङ्ख्या धेरै रहेको बताएका छन्।

एकतिहाइभन्दा बढी सङ्क्रमित दक्षिण अफ्रिकाको वित्तीय क्षेत्र रहेको खाउटेङमा छन्। उक्त प्रान्त एकदमै छिटो महामारीको केन्द्रबिन्दु बनेको थियो । अझै ‍एक महिना सङ्क्रमितको सङ्ख्या उच्चबिन्दुमा नपुग्ने ठानिएको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन दक्षिण अफ्रिकामा एप्रिल र मे महिनामा एकदमै कडा लकडाउन लगाइएको थियो।