धरान/ विदेशबाट आएर क्वारेण्टिनमा बसेका चारजना पुरुषमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सुनसरीमा बिहीबार सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ । उनीहरू चारै जना एक साताअघि विदेशबाट आएर क्वारेण्टिनमा बसेका थिए ।
सङ्क्रमित चार जनामध्ये इटहरीका दुई जना र कोशी गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले बताइन् । उनले भनिन्, ‘चारैजना एक साताअघि विदेशबाट आएका थिए । उनीहरू इटहरी र कोशी गाउँपालिकाको क्वारेण्टिनमा बसेका थिए ।’ चारैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसन सेण्टरमा पठाइसकिएको उनले बताइन् ।
इटहरी क्वारेण्टिनका ४३ जना र कोशी गाउँपालिकाको क्वारेण्टिनका ४६ जना गरी ८९ जनाको थ्रोट स्वाब सङ्कलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पिसिआर जाँच गर्न पठाइएकोमा चार जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको लिङ्थेपले बताइन् ।