लहान । कोरोना भाइरसको संक्रमण फैलिएको ५४ औं दिन शनिबार सिरहामा एकजना कोरना संक्रमित भेटिएका छन् ।
सिरहाको सखुवानकारकट्टी गाउँपालिका १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । २८ फागुनमा वैदेशिक रोजगारी अन्तर्गत मलेसियाबाट फर्किएर घरमै बसिरहेका उनलाई ३० बैशाखमा भगवानपुर पुर्याएर पिसिआर परीक्षणका लागि स्वाब दिन लगाइएको जनाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाले क्वारेण्टाइनमा बस्न आग्रह गरेपनि शारीरिक अवस्था सामान्य रहेकाले घरमै बसेर सामान्य कामधन्दा गरिरहेको स्थानीयले बताए ।
‘स्वाब परीक्षणका लागि जान भन्दा पनि नमानेपछि हलो जोतिरहेका बेला समातेर लगिएको थियो’ उनले भने ‘उनलाई भगवानपुरसम्म लैजाने व्यक्ति, सम्पर्कमा रहेका परिवारका सदस्यहरु, गाउँलेमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।’

स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक अन्देश्वर चौधरीका अनुसार संकलन गरिएको स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई धनगढीमाई ११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनान राखिएको चौधरीले बताए ।