पथरीशनिश्चरे / भारतको पश्चिम वंगालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र बाँकेमा समेत भारतबाट आएका नेपालीमा संक्रमण ह्वात्तै वढेको अवस्थामा पूर्वी नेपालसँग सिमा जोडिएका क्षेत्रमा पनि आवत जावतमा ज्यादै कडाई गर्नुपर्ने स्थानीयले माग गरेका छन् । ।
भारतबाट नेपाल घर आएकामध्ये बाँकेको नेपालगञ्जका मानिसमा कोरोनाको संक्रमण ह्वात्तै बढेको अवस्थामा पूर्वी नेपालको सिमा क्षेत्रमा पनि कोरोना संक्रमित हुनसक्ने जनाउँदै चेकजाँच कार्यलाई बढाउनु पर्ने स्थानीयको आवाज छ ।
मोरङको पथरी शनिश्चरे ५ हसन्दहका सामाजिक अगुवा शरण राईले पूर्वका सिमा नाकाहरुमा पनि पश्चिममा जस्तो कडाई आवश्यक रहेको जनाए । उनले भने ‘बाँकेमा पो चेकजाँच गर्दा कोरोना थाहा भयो । त्यसरी यता पनि चेकजाँच गर्ने हो भनें त्यस्तै अवस्था भएको पनि हुनसक्छ । तसर्थ सिमा क्षेत्रमा ज्यादै कडाई र भरपर्दाे चेकजाँच गर्नु आवश्यक छ ।’
पश्चिम नेपालमा संक्रमित बढेको तथा नजिकै पर्ने पश्चिम बंगालमा समेत संक्रमण तीव्र बनेको अवस्थामा आफ्नो नगरमा पनि अझ कडाई गर्नु आवश्यक ठानेर पथरीशनिश्चरेले नगर क्षेत्रमा लकडाउन कडाई गर्न नगरवासीमा अनुरोध गर्दै अनुगमन् गरिरहेको छ । यस सन्दर्भमा, पथरीशनिश्चरेको नम्वर ५ र ६ मा पर्ने हसन्दह क्षेत्रमा लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र गराउन समस्या भइरहेको समेत पाइएपछि नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा हसन्दह बजार क्षेत्रमा सोमबार अनुगमन् गरिएको छ ।
त्यहाँ लकडाउन पूर्ण रुपमा पालना गर्न स्थानीयलाई अनुरोध गरिएको छ । विहान हसन्दह बजार क्षेत्रमा मानिसहरुको भीडभाडका साथ होटल, सहितका पसलहरु सञ्चालन भएपछि टोली त्यहाँ पुगेको थियो । त्यहाँ होटल सञ्चालन नगर्न तथा तोकिएको समयमा खुलाउने खाद्यान्न र सागसब्जी पसलमा पनि भिडभाड नगर्न अनुरोध गरिएको छ ।
५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, सुरक्षाकर्मी, ‘प्रहरीको साथी म’ सहितको टोलीले त्यहाँ सञ्चालनमा रहेका होटल, चिया पसलका साथै सडक क्षेत्रमा अव्यवस्थित भीडभाडमा सञ्चालित सब्जी पसलहरुलाई वन्द गराइएको उपप्रमुख वास्तोलाले जनाइन् । सवैलाई अनिवार्य मास्क लगाएर साबुनपानीले हात धोएर मात्र अतिआवश्यकीय खाद्य सामग्री किनबेच गर्नुपर्ने कुरामा थप सचेत गराइएको छ । स्थानीय जनप्रतिनिधि सहितलाई स्थानीयले नटेरेपछि नगरपालिकामार्फतको टोली र प्रहरी त्यहाँ पुग्नु परेको थियो ।
बाँकेको नेपालगञ्ज र भारतको पश्चिम वंगालमा संक्रमण बढ्दै गएको अवस्थाको जानकारी गराउँदै नजिकै पर्ने नेपाली सिमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने भन्दै उपप्रमुख वास्तोलाले सवैको ध्यानाकर्षण गराइन् । उनले सीमा क्षेत्रमा पर्ने पालिकाहरुले पूर्णरुपले आवतजावत रोक्न थप कडाई गर्न आग्रह समेत गरिन् ।
नेपालमा कोरोना संक्रमितको सख्या बढेपछि उच्च सतर्कता अपनाउनु पर्ने आवश्यकता अनुरुप १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनको अगुवाईमा सोमबार नै वडाको पथरी बजार क्षेत्रमा पनि अनुगमन् गर्दै लकडाउन पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको छ । सर्वाेच्च अदालतले अलपत्र परेकाहरुलाई घर पुर्याउनु पर्ने भन्ने फैसला गरेपछि काठमाडौं र पोखराबाट घर आएकाहरु होम क्वारेन्टाइनको विधि पूर्ण पालना नगरेको अवस्थामा अर्काे जोखिम बढ्न सक्ने भनेर पनि स्थानीय शंसकित छन् । जो जहाँ छ त्यहीँ नै सुरक्षित वस्नु नै कोरोनाको संक्रमणबाट जोगिने पहिलो उपाय हो । भारतबाट नेपाल घर आएकाहरु पनि क्वारेन्टाइनमा बसेका छैनन् ।
पथरीशनिश्चरेसँग सिमा जोडिएको दक्षिणी नगरपालिका सुनवर्षी त भारतसँग सिमा जोडिएको ठाउँमा पर्छ । ‘मैले पहिलेदेखि नै पनि कसरी बोर्डरमा कडाई गरेर जाने भनेर प्रहरी निकायसँग भनिनै रहेको छु । अव त झन डर भइसक्यो ।’– सुनवर्षी नगर प्रमुख कालिप्रसाद दासले ब्लाष्टसँग भने । उनले आफुहरुले लकडाउनलाई कडाई गर्दै गरेको भएपनि खुला सिमाना भएको र यो बेला सवैतिर मकैखेती भएकाले मानिसहरु मकैबारीबाट लुकेर आउनसक्ने समस्या दर्शाए । ‘लौ न सवै पक्षले मिलेर सिमा क्षेत्रमा आवतजावत गर्न पूर्ण वन्द गरेर हाम्रो सुरक्षामा हामी लागौं ।’– उनको आग्रह छ ।
मोरङतर्फको भारतको सिमा क्षेत्रमा पर्ने रतुवामाई, सुनवर्षी, रंगेली, विराटनगर सहितका क्षेत्रमा पनि सुरक्षाकर्मीहरुबाट कम्तिमा ५ सय मिटरमा अस्थाई विट राखेर रातदिन सिमा क्षेत्रमा थप गस्ती बढाउनुपर्ने र संस्कास्पद देखिएकालाई तत्काल भरपर्दाे चेकजाँच गरिहाल्न समेत उनले अति आवश्यक देखेका छन् ।