धरान / सप्तरीको बोधेबर्साइन नगरपालिकाबाट मध्यराती एम्बुलेन्स रिर्जभ गरेर ५ जनाको एक परिवार धरानमा आए पछि स्थानीय त्रसित भएका छन् । लकडाउन अघि परिवार नै भारत भनी गएका उनीहरु लकडाउनकै बेला रातारात एम्बुलेन्समा धरान–८ सिद्धार्थमार्गको आफ्नो घरमा आएपछि स्थानीयले उनीहरुको कोभिड–१९ को परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् ।

स्थानीय ऐनबहादुर लामाका अनुसार उनीहरु राती १२ बजे घर आएका थिए । उनीहरुलाई राती घर भित्रै थुनेर विहान प्रहरीको जिम्मा लगाइएको लामाले बताए ।

मुसलमान समुदायका उनीहरुको थ्रोट स्वाब संकलन गरेर उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानका आकास्मिक कक्षका प्रमुख तथा हेल्प डेक्स इञ्चार्ज डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए । स्थानीयले उनीहरुलाई धरानमा बस्न नदिए पछि उनीहरुको पुखौंली घर सप्तरीको बोधेबर्साइन नै फर्किएको बताइएको छ । १२ वर्षदेखि ४५ वर्ष उमेरसम्मका एकै परिवारका व्यक्तिहरू रातको समयमा एम्बुलेन्स प्रयोग गरेर घर आएका थिए । उनीहरुको परिवार भारतको विभिन्न स्थानमा घुमेर आएको बताइएको छ ।

परिवारका दुई सदस्यले भने आइतबार राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा आरडिटी परीक्षण गरेको रिपोर्ट साथमा बोकेका थिए । रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) आएको छ । तर, रातको समयमा एम्बुलेन्स प्रयोग गरेर आएका कारण पनि स्थानीयहरू आतङ्कित बनेका थिए ।