धरान / हिजो साँझ चक्कु प्रहारबाट घाइते धरान ४ का अनन्त राईको अवस्था गम्भीर बनेको छ ।  धरान १ सिंहदेवि चौकका प्रकाश तामाङसहितको समुहले धरान–१२ स्थित पब्लिक स्कुल नजिक बाया कोखामा राई माथि चक्कु प्रहार गरेका थिए ।
उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिआइसियुको बेड नं. १० मा उपचार भइरहेको छ । हिजो राती नै शल्यक्रिया गरि उनलाई भेन्टिलेटरमा राखिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजन रहेको बताइएको छ । उनीसँग पेम्मा लामालाईसमेत चक्कु प्रहार भएको थियो । उनको भने साइली औंलामा र पछाडी टाउकोमा चोट लागेको छ । उनको भने अवस्था सामान्य रहेको छ । टाउकोमा पाँच टाँका लगाइएको उनका अभिभावकले जानकारी दिएका छन् । प्रहरीले राती नै प्रकाशसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धत्रान गरिरहेको छ ।
बद्लाको भावमा चक्कु प्रहार
डिएसपी न्यौपानेका अनुसार उनीहरु पहिले साथी रहेछन् । ‘आपसी बादविवादमा अनन्तले यस अघि ९ टाँका लगाउने गरि प्रकाशलाई आक्रमण गरेका रहेछन् । त्यही बद्ला लिने क्रममा हिजो अनन्तमाथि आक्रमण गरेका रहेछन् ।’–डिएसपी न्यौपानेले भने । प्रकाश विरुद्ध पीडितका आफन्तले आज जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।