धरान / नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यविधि आउने वित्तिकै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताए । मंगलबार धरान–३ शान्तिपथमा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुवेदीले धरान उपमहानगरपालिकाले सुकुम्बासीको लगत उठाइरहेको र संघीय सरकारले भूमिसुधार ऐन ल्याइसकेको भन्दै कार्यविधि आउने वित्तिकै धरानका सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताए ।
उनले धेरै काम सम्पन्न भएको तर कार्यविधि पारित नभएको अवस्थाले गर्दा मात्रै धनीपूर्जा वितरण रोकिएको बताए । उनले लामो प्रकृयाका सबै काम सम्पन्न भइसकेको भन्दै अब छिट्टै कार्यविधि आउने र सुकुम्बासीले धनीपूर्जा पाउनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरानको खानेपानीको सम्पत्ति हस्तान्तरण गर्ने काममा कांग्रेसले भाजो हालेकोले केही लम्बिएको बताए ।
खानेपानीको योजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा संस्थानले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा पानी जोड्न नपाएकोले घर घरमा पु¥याउन नसकेको बताए । उनले वडा नं १७ र १५ मा जोडेर खानेपानी वितरण समेत भइसकेको भन्दै अन्य वडामा संस्थाका हाकिमले अड्काइराखेको आरोप लगाए । उनले धरान–३ मा रहेको पुरानो सब्जी बजारलाई आधुनिक बनाउन सरकारले डेढ करोड बजेट छुट्याइसकेको भन्दै आधुनिक सब्जी बजार बनाइने बताए । त्यस्तै नेपालमा नै पहिलो पटक स्मार्ट बसपार्क बन्ने जसमा अण्डरग्राउण्ड सहित बहुतले बसपार्कको निर्माण हुने सुवेदीले बताए ।