ताप्लेजुङ / ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना नागरिक एकैचोटी दुर्घटनामा परेर निधन भएको १३ वर्ष पूरा भएको छ । २०६३ असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालिन सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।
विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो । घटना लगत्तै सरकारले पुनरावेदन अदालत पाटनका तत्कालिन मुख्य न्यायधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा कार्यदल बनाएको थियो । घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीय बासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउने गरेका छन् ।
राष्ट्रिय संरक्षण दिवस मनाइँदै
यसैबीच हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ । वि.सं. २०६३ असोज ७ गते भएको घुन्सा दुर्घटनामा निधन भएकाहरूको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृती पार्कमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
१२ बर्ष पछि ताप्लेजुङमा अर्को ठूलो दुर्घटना
तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ६ जना गत फागन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । मन्त्री अधिकारी ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा उक्त हेलिकप्टर दुर्घटना भई निधन भएको हो । उक्त हेलिकप्टर ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एयर डाइनेस्टीका पाइलट प्रभाकर केसी, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको दुर्घटनामा परी निधन भएको थियो ।