धरान । आइतबार अपरान्ह काठमाडौंका दुई स्थानमा भएको विस्फोटमा मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौंको सुकेधारा र अनामनगरको घट्टेकुलोमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो । जसमध्ये बुढानिलकण्ठ नगरपालिका–४ को एक सैलुन पसलमा भएको विस्फोटमा पर्नेहरुको पहिचान खुलेको हो ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा हाल कपन बस्दै आएका काभ्रेका हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन छन् । एक जनाको घटनास्थलमै र एक जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यता अनामनगरको घट्टेकुलामो भएको विस्फोटमा पर्नेको पहिचान हालसम्म हुन सकेको छैन ।
तर, सोही स्थानमा भएको विस्फोटमा घाइतेको पहिचान खुलेको छ । उनी रुकुमको सानोभेरी गाउँपालिकाका रविन केसी रहेको प्रहरीले जनाएको छ । उनी विप्वल माओवादीका कार्यकर्तासमेत रहेको खुलेको छ ।
उनको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले यो घटनामा विप्लव समूहको संलग्नता रहेको पुष्टि गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेले विस्फोट भएका स्थानमा विप्लव समूहको पर्चा भेटिएको छ ।
विस्फोटक पदार्थ बनाउँदै गरेको समयमा विस्फोट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । किनकी भोली सोमबार विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको छ । यसअघि प्रहरी कारबाहीका क्रममा भोजपुरमा गोली लागी षडानन्द नगरपालिकाका तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।
उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो । सोही कार्यकर्ताको मृत्युको विरोधमा विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको हो ।