बिर्तामोड /  नाबालकको मृत्यु भएपछि आक्रोसित परिवार र बिर्तामोडको बिर्ता सिटी हस्पिटलबीच सहमति भएको छ । परिवारसँग भएको सहमति पछि शबलाई पोष्टमार्टम गर्न बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मेचीनगर नगरपालिका ४ चारआलीका २ वर्ष ५ महिनाका नावालक जेनित राजवंशीको मृत्यु भए पछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका थिए । झाडापखला लागेका नावालक जेनितलाई उनका आफन्तले उपचारका लागि आइतबार साँझ ७ वजे बिर्ता सिटी अस्पतालमा भर्ना गरेका थिए । आकस्मिक कक्षमा राखिएका नावालक जेनितलाई नर्सले इन्जेक्शन (सुई) दिएको केही समय पछि नै उनको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।
नाबालकको मृत्यु भए पछि आक्रोशित आफन्तको भिडले अस्पताल तोडफोड गरेको थियो । तोडफोडबाट अस्पतालको आकस्मिक कक्ष, झ्याल ढोकामा क्षति पुगेको बताइएको छ । राती १० बजे भएको घटनालाई साम्य बनाउन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । प्रहरीको हस्तक्षेप पछि अस्पतालमा भेला भएको भिड पछि हटेको थियो । जनप्रतिनिधिले पीडित आफन्तजन र गाउबासीलाई सम्झाएर वार्ताका लागि वाताबरण बनाएका थिए ।
पीडित परिवार, प्रशासन र राजनीतिक दलबीच इलाका प्रहरी कार्यालयमा भएको छलफलमा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरको नेतृत्वमा घटनाको छानविन गर्त समिति बनाइएको छ । कमिटीमा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रशासन कार्यालयका अधिकारी र एकजना बिषेशज्ञ चिकित्सक सदस्य रहेका छन् ।
समितिले १० दिनभित्रमा छानविन प्रतिवेदन बुझाउने समयसिमा तोकिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए । समितिले बच्चाको उपचारमा भएको प्रक्रिया, बिरामी हुँदाको अवस्था, उपचारमा प्रयोग भएको औषधी, अस्पतालको वाताबरण, उपचारमा भएको कमिकमजोरीलगायतका सम्पुर्ण मेडिकल सम्बन्धि बिस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने बताइएको छ ।
उपचारमा संलग्न मेडिकल टिमलाई जाहेरीका आधारमा नियन्त्रणमा लिएर आवश्यक अनुसंधान तथा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाउने समेत सहमति भएको जनाइएको छ । सहमति बमोजिम छानविन समितिले सोमबारदेखि नै काम अघि बढाएको जनाएको छ ।