सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको भइरहेको छ । यो लक्ष्य २०१७ मा भित्रिएका करिब साढे नौ लाख विदेशी पर्यटकको दोब्बर सङ्ख्या हो । एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा चालू आर्थिक वर्षमा पर्यटक १२ लाख पु¥याउने, एक सय पर्यटन गन्तव्य विकास गर्ने र पाँच वर्षमा २५ लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । अहिलेको तथ्याङ्कअनुसार भारत पहिलो, चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छन् । फ्रान्स, बेलायत, जर्मनीलगायत युरोपेली मुलुकका पर्यटकको संख्या पनि निकै छ । जापान, दक्षिण कोरियालगायतका एसियाली मुलुक र पछिल्लो समयमा बङ्गलादेशी, श्रीलङ्काली पर्यटकको सङ्ख्या पनि बढ्दो छ । जुनसुकै मुलुकबाट आए पनि विदेशी पर्यटक हाम्रा लागि महत्वपूर्ण छन् । तर हाम्रो सीमित स्रोत, साधन र क्षमताका कारण छिमेकी भारतीय र चिनियाँ पर्यटकमा हाम्रो ध्यान बढी जान आवश्यक छ । विदेश भ्रमण आर्थिकस्तरसँग प्रत्यक्ष सम्बन्धित भएको र यी मुलुकका जनताको प्रतिव्यक्ति आयको उच्च वृद्धि भइरहेका कारण आगामी दिनमा विदेश भ्रमणमा निस्कनेको संख्या बढ्ने सम्भावना छ । अर्काेतर्फ भारतीय र चिनियाँ पर्यटक सबभन्दा बढी खर्चालु मानिन्छन् । औषत प्रतिव्यक्ति खर्च भारतीय पर्यटकको एक हजार दुई डलर र चिनियाँको नौ सय डलर छ भने अमेरिकीको सात सय डलर, बेलायतीको पाँच सय डलर छ । त्यसैले भारत र चीन पर्यटकका प्रमुख स्रोत राष्ट्र भएकाले यी मुलुकमा पर्यटन प्रवद्र्धनका लागि विशेष ध्यान पु¥याउन आवश्यक छ । भौगोलिक रूपमा सानो मुलुक भए पनि पर्यटकीय गन्तव्यका रूपमा नेपाल विश्व मानचित्रमा अङ्कित छ । यहाँको सांस्कृतिक, धार्मिक, प्राकृतिक विविधताले सबैलाई आकर्षित गर्छ । पर्यटनको सबैभन्दा ठूलो हिस्सा ओगटेको १ नम्बर प्रदेशले अझ ठूलो उपलब्धि हासिल गर्न सक्छ । यो प्रदेशमा सर्वाेच्च शिखर सगरमाथासहित अग्ला हिमाल, पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनको सम्भावना, हावापानीको विविधता, वराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, हलेसी, पाथीभरा जस्ता धार्मिक क्षेत्रहरु पनि यहाँका आकर्षणका केन्द्र हुन् । पर्यटन प्रवद्र्धनका लागि नेपाल, चीन र भारतबीच समय–समयमा महत्वपूर्ण सहमति भएका छन् । भारतसँग रामायण सर्किट, बुद्धिष्ट सर्किटलगायत साहसिक पर्यटन प्रवद्र्धनमा दुवै देशका सहमति भइसकेकाले यसलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्नु हुँदैन । गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पन्न गरेको चीन भ्रमणका क्रममा दुई देशबीच रेल, सिधा उडान, सडक, सञ्चारलगायतका कनेक्टिभिटी सहयोग परियोजनामा हस्ताक्षर भएको छ । यसले चिनियाँ पर्यटक नेपालमा भिœयाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ । अर्कोतर्फ, गन्तव्यस्थलको पहिचान र विकास हुन सकेको छैन । विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधारको पर्याप्त सुधार नभए अब बढ्ने पर्यटकलाई धान्न सक्ने क्षमता छैन । त्यसैले पर्यटन प्रवद्र्धन सँगसँगै पूर्वाधार विकासमा पनि ध्यान जानुपर्छ । त्यसकारण हामीले पर्यटनबाट समृद्धि चाहने हो भने यसको पूर्वाधार तयार गर्न र पर्यटनमैत्री देश र प्रदेश बनाउन पछि पर्नु हुँदैन ।