विदेशी भूमिमा ६ वर्ष पसिना बगाएर आएका उनी ऐले स्वदेशमै लगनशील भएर ‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन् ।
मधुमल्ला । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवाहरू दुई–चार पैसा कमाउन भन्दै विदेशिने क्रम बढ्दो छ । तर मिहिनेत गर्दा स्वदेशमै पनि राम्रोसँग रोजगारी सिर्जना हुन्छ भन्ने कमैले मात्र सोचेका छन् । विदेशी भूमिमा ६ वर्ष पसिना बगाएर आएका उनी ऐले स्वदेशमै लगनशील भएर ‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन्, मोरङ मिक्लाजुङ –७ मधुमल्लाका नारायण गुरागाईं । गुरागाईंले पान बेचेर मात्रै ६० हजार रुपैयाँ मासिक आम्दानी गर्छन् । पान बेचेर मधुमल्लामा घडेरी किनेर चारकोठे पक्की भवनसमेत बनाएका छन् । नारायण आफ्नो पान पसलप्रति सन्तुष्ट छन् । ‘विदेशी भूमिमा धेरै पसिना बगाइयो ऋण पनि तिर्न सकिएन तर पान पसल सञ्चालन गर्दा राम्रै आम्दानी भयो ।’ उनी भन्छन्, ‘स्वदेशमा व्यापार सानै गरेपनि आम्दानी राम्रै हुने रहेछ विश्वासै थिएन, तर आज घर बनाउन सकेँ ।’
मधुमल्लाको मुख्य चोकमा खोलेको पान पसललाई उनले निरन्तरता दिँदै आएका छन् । गुरागाईंले अहिले पान पसलसँगै होलसेल किराना पसलसमेत चलाउँदै आएका छन् । किरानासँगै पान बेच्न भ्याइनभ्याई हुने गरेकाले श्रीमती र उनका बुवाले पनि पसलमा बसेर सघाउँछन् ।
‘चुना हाल्ने काम श्रीमतीले गर्छिन्, पानको तयारी चाहिँ म गर्छु ।’ गुरागाईं भन्छन् । गुरागाईंले किराना सामानसँगै ग्राहकको इच्छाअनुसार पानसमेत घरघरमा पु¥याउने काम गर्छन् । उनले पान पसलको आम्दानीबाट घरमात्र बनाएनन् । छोरालाई मधुमल्लाको चलेको बोर्डिङ स्कुलमा पढाइरहेका छन् । गुरागाईंको पान पसल मधुमल्लाकै नाम चलेको पान पसलमध्येमा पर्छ । बिहानै ६ बजेदेखि राति ८ बजेसम्म उनको यो दैनिकी चलिरहन्छ ।
































