अहिले विराटनगरमा भइरहेको अनुगमनले त्यहाँको पानी उद्योगको अवस्थाबारे चित्रित गरिदिएको छ । अधिकांश पानी उद्योगबाट उत्पादित पानी पिउनयोग्य छैन । स्वास्थ्यमाथि गम्भीर खेलवाड हुनेगरी उद्योगले पानीको अम्लीयपन (पिएच) बढाउन सोडाको प्रयोग गरेको थप खुलेको छ । नेपालमा अधिकांश पानी उद्योगले मापदण्ड पूरा नगरेको स्थिति एकातिर छँदैछ, अर्कोतिर पानी उद्योगले सोडा प्रयोग गरेको विषय जसरी बाहिर आएको छ, यसले थप उद्योगको अवस्थालाई चित्रण गरेको छ । अनुज्ञापत्र नलिई घर–घरमा उद्योगहरु सञ्चालन भइरहेको यथार्थ हामीमाझ लुक्न सकेको छैन । हिजोको अवस्थामा चुस्त अनुगमन नभएकै कारण उद्योगहरुको वास्तविक अवस्था बाहिर आउन सकेको थिएन । तर, अहिले भइरहेको अनुगमनले वास्तविकता पर्दाफास गरिदिएको छ । अब कारबाहीको सवालमा के होला भन्ने जनताको जिज्ञासा भने अझै अन्यौल छ । गएको २० वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन थियो । जसले गर्दा अनुगमन, निरीक्षणलगायत काम सुस्त गतिमा थिए । जसले गर्दा उद्योगी, व्यापारीको मोनोपोली बढ्दै गएको यथार्थ अहिलेको अनुगमनले पनि देखाइदिएको छ । जसले जे गरे पनि हुने खालको प्रवृत्ति हाबी हुँदै गएका कारण पनि यस्ता उद्योगहरुले विगतका दिनहरुमा प्रश्रय पाइरहे । यसैको नतिजा अहिले विराटनगरको पानी उद्योग हो । अहिले सरकारले स्थायित्व प्राप्त गरेको छ । सरकारले अब चाहे जसरी अनुमगन र निरीक्षण गर्न सक्छ । त्यसतर्फ अहिलेको सरकार लाग्नु पर्छ । जनता सम्पत्ति हुन् । उनीहरुको मौलिक अधिकारलाई कुण्ठित गर्नु हुँदैन । स्वच्छ पानी पिउने वातावरण सरकारले नै तयार पार्नुपर्छ र त्यस्ता उद्योगलाई मापदण्डमा ल्याउन पनि अनुगमन अनिवार्य शर्त हो । अनुगमनले मात्रै हुँदैन, गलत भए शिलबन्दी गर्दै खारेजीसम्मको अभियान चलाउनु पर्छ । ता कि भोलिका दिनमा अन्य उद्योगले सहजै खोल्ने स्थिति सिर्जना नहोस् । पानी जीवन हो । तर पानी नै दूषित भयो भने विभिन्न रोगले सङ्क्रमण गर्छ । मिनिरल पानीले उल्टो रोग लगाउने स्थिति सिर्जना हुनु आफैमा गम्भीर विषयमा हो । यसका लागि पनि राज्यले त्यस्ता उद्योगहरुको तालिका बनाएर खारेजी अभियान चलाउनु पर्छ । अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकार भएको अवस्थामा अनुगमन र निरीक्षण दिगो गर्नुपर्छ । मासिक रुपमा अनुगमन गर्नुपर्छ । अन्यथा समस्या हल हुनुको सट्टा थप वृद्धि भएर जानेछ । २० वर्षपछि जनप्रतिनिधि पाए पनि ‘कानै चिरेको’ भन्ने उखानजस्तो मात्रै सावित हुनेछ । त्यसतर्फ सरकार सचेत हुनुपर्छ ।