भद्रपुर । झापाको पूर्वोत्तर नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतको बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको समाचार सञ्चारमाध्यममा पटक–पटक प्रकाशित भएपछि केही महिना अगाडि प्रहरी प्रशासन सक्रिय देखिए पनि पछिल्लो समय भने खुल्लेआम भारतीय चिट्ठा बिक्री हुन थालेको छ ।
प्रहरीले झण्डै आधा दर्जन भारतीय चिट्ठा बिक्री गर्ने भारतीय नागरिलाई पक्राउ गरि कार्वाही समेत नगरेको होइन । तर, पछिल्लो समय भने प्रहरी प्रशासन त्यसतर्फ मौन देखिन्छ । खुल्लेआम अन्य सामान बिक्री गरे सरह भद्रपुर बजारमा भारतीय नागरिकले चिट्ठा बिक्री गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार केही महिना अगाडी चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्थे तर अहिले खुल्लेआम बिक्री हुने गरेको छ । दुईहप्ता अघि चिट्ठा बिक्री गर्ने भारतीय नागरिक ३ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ समेत गरेको थियो । गत २ वर्ष पहिला सीमा क्षेत्रमा कडाईका साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिट्ठा कारोबारीलाई निगरानी बढाए दुई जनालाई चिट्ठाका साथ पक्राउ गरेको हो । प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रुपमा चिट्ठा बिक्री गर्न नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकोहरूको अनुरोधमा लुकाई छिपाई भारतीय चिट्ठा नेपाल भित्रने गरेको थियो । तर अहिले भने अबैध भारतीय चिट्ठा खुलेआम नेपाल भित्रने गरेको छ ।
अहिले मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट ,भाडा पसल जस्ता स्थानमा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र भएको र खेल्नेहरू नेपालमै प्रशस्त भएकोले उनीहरूलाई प्रहरीले छुन पनि नसक्ने स्थानीयको भनाई छ । भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ । उनीहरूलाई पक्राउ गरी कानूनी कार्वाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द नहुने केही व्यापारी बताउँछन् ।
भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ले गरेका छन् । भारतबाट चिट्ठा बेच्न आउने एक भारतीयका अनुसार भद्रपुर चन्द्रगढीबाट मात्रै दैनिक ५ लाख भन्दा बढीको चिट्ठा खरिद हुने बताउँछन् । हामी त चिट्ठा बिक्रेता हौं, जति धेरै बिक्री गर्न सक्यो उति बढी कमिशन आउँछ, र बेचेको चिट्ठामा परिहाल्यो भने थप कमिशन आउँछ ।’
पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै अहिले ५० लाख पुगेको थियो अहिले फेरि २६ लाखमा झरेको उनिहरु बताउँछन् । कहिले काँही १÷२ जनालाई सामान्य रकम परेजस्तो भएपछि आकर्षित हुदै गएको भारतीय चिट्ठाप्रति लत प्रहरी प्रशासनको मौनताका कारण पनि भद्रपुरमा खुल्लेआम खरिद बिक्री बढेको हुनसक्ने भद्रपुरका केही व्यापारीको आरोप छ । भारतबाट बिक्री गर्न आउने, क्यारियर गर्ने मात्र हैन यहाँ बसेर खेल्लेलाई पनि कार्वाहीको दायरामा जवसम्म ल्याइन्न तबसम्म भद्रपुरमा भारतीय चिट्ठाको कारोबार बन्द नहुने उनिहरु बताउँछन् ।