भद्रपुर / सरकारले दुइ वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोनको रुपमा घोषणा गरेको झापाको कचनकवल गाउपालिकालाई घोषणा गरेपनि उद्देश्य अनुरुप सेवा सुविधा नपाएको सरोकारवाला पक्षले बताएका छन् । सुपरजोनको बस्तु स्थितीका बारेमा क्षेत्रिय कृषि निर्देशनालय विराटनगरबाट आएको टोलीले गरेको कार्यक्रममा उनिहरुले समस्याको चाङ थुपारेका थिए ।

 जनप्रतिनिधि, उद्योगपती, किसान, कृषिका बिभिन्न समूह, सरोकारवालाले उत्पादित चैते धानको मूल्य र बिक्री नहुनु , समयमै मलखाद व्यवस्था, सिंचाई सुबिधा बिस्तारमा लगानि कम भएको , ग्रामीण क्षेत्रहरूमा विद्युतिकरण, चक्लाबन्दीको लागि अनुदान नआएको , निजी उद्यमी व्यवसायी हरुलाइ ट्रयाक्टरमा सहुलियत नदिनु जस्ता समस्या अघि सारेका थिए । त्यसैगरि सुपरजोनबाट केही किसानलाइ मात्र अनुदान पुगेको, साना र दुर्गम स्थानमा रहेका खेतीमा आबद्ध किसानहरूमा अनुदान नपुगेको, प्रविधि र मेसिनरी बारे सबैलाइ जानकारी हुन नसकेको, ड्रायर सुविधाहरु र मिल उद्योगपतिहरुलाइ खासै सहुलियत नभएको, मिलमा ड्रायर सुविधा राख्न कम्तिमा ६ महिना समय लाग्ने भएपनि एक दुइ महिनामा पुरा गर्नु पर्ने अवस्थाका बारेमा कुरा उठाएका थिए ।

सबै क्षेत्रमा सुपरजोनले मेशिनरी उपकरण प्रयोग प्रदर्शनी र तालिम सञ्चालन नगरेको, थोरै मात्र किसान लाभान्वित हुने, बैंक ऋण सहुलियत सहज नभएको, कृषि वाली बीमामा प्रभावकारी नभएको औल्याएका थिए । सेवा सुविधा, अनुदान वितरण स्थानीय पालिका हरुको समन्वय र सहकार्यमा अझ प्रभावकारी हुने गरि सञ्चालन हुनुपर्ने लगायतका विषयहरुको बारेमा उनिहरुको माग थियो ।

सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा तथा भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठको प्रमुख अतिथ्यता भएको कार्यक्रममा  कचनकवल गाउँ पालिका उपाध्यक्ष निमसरी राजबंशी विशिष्ट अतिथी थिइन् । क्षेत्रिय कृषि निर्देशनालय विराटनगरका बरिष्ठ योजना अधिकृत बद्री दहाल र इश्वर बर्शिलाले प्रस्तुती तथा सहजीकरण गरेका थिए । कार्यक्रममा सुपरजोन प्रोफाईल, वस्तु स्थिति र कार्यक्रम सञ्चालन तथा कार्यान्वयन बारे समितिका अध्यक्ष भट्टराइले गरेका थिए ।

झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष यम बहादुर श्रेष्ठ , भद्रपुर नगरपालिका कृषि प्रसार अधिकृत शेषराज पौडेल, कचनकवल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कुल बहादुर कार्की , स्थानीय व्यवसायी विनोद झा , सञ्चालक समितिका पदाधिकारीहरु र  मेसिनरी र नविनतम प्रविधिको प्रयोग मा संलग्न कृषकहरुबीच छलफल गरिएको सुपरजोन इकाइका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए । सुपरजोनको विषयमा धेरै कुराहरु उठेकोले त्यसलाई सुल्झाउदै लैजाने उनको भनाई छ ।

कार्यक्रममा उठेका विषयवस्तुलाई बरिष्ठ योजना अधिकृत दहाल र सुपरजोन सञ्चालक समितिका  अध्यक्ष भट्टराईले जिज्ञासा र प्रश्नहरुको बारेमा प्रष्ट पारेका थिए ।