पानवारी / जिल्ला स्तरीय अन्तर विद्यालय एन्फा कप–२०७५ अन्तर्गत छात्र तर्फको उपाधी इटहरीको ब्राइटफ्युचर इङ्लिस स्कुलले जितेको छ भने छात्रा तर्फको उपाधी बराहकाे अादर्श माविले जितेको छ ।
गत शनिबारदेखि एन्फा एकेडेमी धरानमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा ब्राइटफ्युचरले धरानको लिबर्टी रेसिडेन्सियल स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै आदर्शले इटहरीकाे हिमशिखर इङ्लिस स्कुललार्इ २–० गोल अन्तरले पराजित गरेको थियो । प्रथम भएको छात्र टिम ब्राइटफ्युचरले नगद रु १५ हजार सहित ट्रफि समेत जितेको छ भने दोस्रो टिम लिबर्टीले नगद रु १० हजार सहित ट्रफि जितेको छ । त्यस्तै प्रथम हुने छात्रा टिम अादर्श र दोस्रो हुने हिमशिखरलाई समान रु २ हजार पाँचसय सहित ट्रफि प्रदान गरिएको थियो । एन्फा सुनसरीले आयोजना गरेको अन्डर सिक्सटिन नकआउट फुटबल प्रतियोगितामा छात्रतर्फ सुनसरीका विभिन्न १८ वटा स्कुल तथा छात्रा तर्फ ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयी टिमलाई एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, मानार्थ केन्द्रीय सदस्य दिपक राई लगायतले पुरस्कार वितरण गरेका थिए ।