बिर्तामोड । एउटा सहकारीले ‘सामाजिक उत्तरदायित्व’ बहन गर्दै कति खर्च गर्ला ? रक्तदान कार्यक्रम आयोजना, अस्पतालका बिरामीलाई फलफुल वितरण वा अन्य केही ? तर, झापाको एउटा सहकारी संस्थाले नेपालमै सबैभन्दा धेरै रकम आर्थिक सहयोग गर्दै ‘मेरो गाउँ मेरो लगानी’ कार्यक्रम शुरु गरेको छ ।

झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस अर्थिक बर्षमा बिभिन्न संघ संस्थालाई एक करोड रुपैंयाँ सहयोग गरेको छ । संस्थाले जिल्लाभरका सामाजिक संघ/संस्थालाई एक करोड रकम प्रदान गरेको हो । जिल्लामा रहेका संघ संस्थालाई आर्थिक रहयोग गर्न अब्बल दरिएको सहारा नेपालले एकैपटक ठुलो रकम प्रदान गरेको यो पहिलो हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत मेरो गाउँ मेरो लगानी भन्ने कार्यक्रमको आयोजना गरी सुरक्षा निकाय, सामुदायिक बिद्यालय, सामुदायिक भवन, पत्रकार उपचार कोष, पर्यटनको क्षेत्र लगायतका क्षेत्रका लागि रकम हस्तान्तरण गरेको हो । सहाराले झापाको सुरुङ्गामा कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरेको छ ।

संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई १० लाख रुपैयाँ बराबरको र्याडर गन र वेथलाइजर, नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा सञ्चालित पत्रकार सहारा उपचारकोषलाई २ लाख, स्मार्ट चौक निर्माण चारपाने, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गालाई १८ लाख, सैनिकमोडको सामुदायिक स्वास्थ्य भवनलाई २ लाख, नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापनको लागि गाडी खरिदका लागि ५ लाख, बागेडाँगीमा कृषि सेवा केन्द्र स्थापना १० लाख, दूधे खोला तटबन्धनमा भेटभर विरुवा सहयोगका लागि १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । त्यसैगरी जामुनखाडीमा कोसेली घर निर्माणका लागि ५ लाख, सरकारी बिद्यालयहरुमा सहारा अक्षयकोष स्थापनाका लागि १० लाख, सतासी मौरी पालन सहकारीलाई मौरी प्रशोधन केन्द्र स्थापनाका लागि ५ लाख, चारपाने सामुदायिक भवन निर्माणका लागि ५ लाख, सुरुङ्गा लाइन्स सामुदायिक भवन निर्माणका लागि ५ लाख, बिर्तामोड क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ४ लाख, गरामनी दृष्टिविहिन बिद्यालयलाई सहयोग १ लाख, बिहिवारे, लक्ष्मीनारायण, सुरुङ्गा उद्योग बाणिज्य संघ, शिवसदन सामुदायिक भवन र कुमरखोद सामुदायिक भवनका लागि ५ लाख र संस्थाद्धारा प्रवर्धित महिला सहकारीलाई ३ लाख रुपैयाँ प्रदान गरेको छ ।