काठमाडौं/ बलिउड अभिनेत्री रानी मुखर्जीको कमब्याक फिल्म 'हिचकी'शुक्रवार रिलिज भएको छ । आफ्नो उम्दा अभिनयका साथ रानीले यस फिल्ममा छाप छोड्न सफल भएकी छन् ।

'हिचकी' एक युवतीको कथा हो जसले आफ्नो कमजोरीलाई अवसरका रूपमा उपयोग गर्छिन् । युवतीलाई बारम्बार हिचकी अर्थात् बाडुली लाग्छ । यो टरेट सिन्ड्रोम नामक रोग हो । उनी शिक्षक बन्न चाहन्छिन् तर उनलाई यस्तो रोगका साथ शिक्षकको जागिर पाउन गाह्रो हुन्छ भनिन्छ । तर उनले पढाउने अवसर पाएपछि कसरी आफूलाई प्रमाणित गर्छिन् भन्ने कथा फिल्मले भन्छ ।

फिल्मको कथा ब्य्राड कोहेनको पुस्तक 'फ्रन्ट अफ द क्लास स् हाउ टरेट सिन्ड्रोम मेड मी द टीचर आई नेभर ह्याड'मा आधारित छ । फिल्मलाई सिद्धार्थ मल्होत्राले निर्देशन गरेका हुन् । यशराज फिल्म्स ब्यानरको दम लगा के हईशा र मेरी प्यारी बिन्दुपछि मनीष शर्माले प्रोड्युस गरेको यो तेस्रो फिल्म हो ।

फिल्ममा रानीले नैना माथुर नामक पात्रको भूमिका निर्वाह गरेकी छन् । आफ्नो स्नायुमा नियन्त्रण गर्न नसक्ने समस्याले ग्रस्त नैनाले बल्लबल्ल एक ठूलो विद्यालयमा जागिर पाएपछि उनलाई विद्यार्थीहरूले दिनदिनै नयाँ नयाँ तरिका अपनाएर हैरान गर्छन् । नैनाले बच्चाहरू अनि विद्यालय व्यवस्थापनसँग संघर्ष गरिरहनुपरेको हुन्छ । विभिन्न बाधा अवरोध भएपनि नैनाले आफूलाई लायक साबित गर्छिन् ।

फिल्ममा रानी मुखर्जीका साथ सपोर्टिङ रोलमा हर्ष मायर, सचिन पिलगाँवकर, सुप्रिया र कुणाल शिन्दे लगायतका कलाकार छन् ।

फिल्मका गीतहरू रमाइला छन् ।

फिल्ममा रोगलाई कमजोरीका रूपमा नभई प्रौढताका साथ निबटाउन सकिने अवसरका रूपमा देखाइएको छ । सार्थक विषयमा बनेको फिल्म हेर्न सिफारिश गरिन्छ ।