धरान/सुनसरीको दुई उमपहानगर, ४ नगरपालिकासहित ६ गाउपालिकामा ७१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुनसरीको इनरुवा नगरपालिका र भोक्राहा गाउपालिकामा आँकलन गरे भन्दा केही कम मत खसेको कार्यालयले जनाएको छ । अन्य गाउपालिका तथा नगरपालिकाहरुमा सोचेभन्दा राम्रो मत खसेको बताइएको छ ।
सुनसरीमा कुल मतदाता ४ लाख २१ हजार एकसय ५९ जना रहेका थिए । जसमा १६६ वटा मतदान केन्द्रमा ४८५ वटा बुथहरु रहेका थिए । धरानमा ७० को हाराहारीम मत खसेको धरानस्थित निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतका अनुसार प्रारम्भिक अनुमानमा ६८ देखि ७० प्रतिशत मत खसेको पाइएको छ ।
सुनसरीमा सबैभन्दा बढी इटहरीमा खसेको अनुमान गरिएको छ । इटहरीमा झण्डै ७१ प्रतिशत मत खसेको बताइएको छ । अन्य गाउपालिका तथा नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन कार्यालयका प्रवक्ता शान्तिराम अधिकारीले जानकारी दिए ।
‘अहिलेसम्मको अनुमान गर्दा ७१ प्रतिशत मत खसेको बुझिएको छ ।’ अधिकारीले फोनमा भने । सुनसरीको धरान, इटहरी उपमहानगर रहेका छन् । त्यस्तै बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवा नगरपालिका छन् । त्यस्तै कोशी, देवानगञ्ज, गढी, बर्जु, हरिनगरा, भोक्राहा गाउँपालिका छन् ।
सुनसरीका केही निर्वाचन केन्द्रहरु अति संवेदनशील तोकिए पनि निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । सुनसरीमा ६४ वटा अति संवेदनशील र एकसय २ वटा संवेदनशील क्षेत्रहरु तोकिएको थियो । तर, पनि सुनसरीमा शान्तिपूर्ण तवरले चुनाव सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रविण धितालले जानकारी दिए ।
निर्वाचनलाई नै लक्षित गर्दै सुनसरीका सीमा नाकाहरु पनि शिल गरिएका थिए । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि निर्वाचन समय तोकिएको थियो । तर, कतिपय मतदाता बढी भएको क्षेत्रहरुमा भने सर्वदलीय छलफल बस्दै ७ बजेसम्मको लागि मताधिकार प्रदान गरिएको थियो ।