चितवन/ गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् ।

अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने आजसम्म सम्पर्कमा आउन नसकेको उनका छोरा दीपक लामिछानेले बताए।

गोर्खा जानुअघि बुबाले घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको हुँदा म घर नपुगे र केही भएमा ती महिला जिम्मेवार हुने पत्रसमेत लेखेर छाडेकाे  छोरा दीपकले बताए। ती महिलालाई समेत झिकाएर प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कल डिटेलसहित झिकाएर अनुसन्धान र खोजी कार्यलाई तीव्रता दिएको बताए । बेपत्ता हुनु अघिल्लो दिन शुक्रबार बिहान १० बजे पछिल्लोपटक परिवारसँग सम्पर्क भए पनि त्यसयता लामिछानेको मोबाइल स्विचअफ रहेको छ ।

आफूलाई महिला हिंसा गर्न खोजेको आरोप लगाउँदै ती महिलाले लामिछानेविरुद्ध जिप्रका गोर्खामा निवेदनसमेत दिएकी बताइएको छ । बुबा बेपत्ता भएपछि ती महिलाले प्रहरीमा उल्टो निवेदन दिएको छोरा दीपकको दाबी छ ।

रासस