
शनिश्चरे/झापा र मोरङमा झण्डै तीन दशकदेखि शरण लिँदै आएका भुटानी शरणार्थीहरुका विभिन्न संघ संस्थाले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई आफुहरुको स्वदेश फर्किने वातावरण बनाउन माग गरेका छन् ।
नेपालमा प्रधानमन्त्री फेरिनेबित्तिकै प्रत्येक पटक सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएका शरणार्थीहरूले यस पटकको सरकारले भने आफूहरूको मागलाई सम्बोधन गर्ने आशा गरेको भुटानी शरणार्थी जेष्ठ नागरिक समितिका प्रवक्ता सन्तवीर घलेले उल्लेख गरेका छन् । देउवा प्रधानमन्त्री भएको केही दिन बित्न नपाउँदै शरणार्थीहरूको स्वदेश फिर्तीसम्बन्धी माग राखेर विभिन्न संघसंस्थाले ज्ञापनपत्र पठाउने क्रममा आइतबार भुटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले प्रधानमन्त्री देउवालाई ईमेल र कुरियरमार्फत ज्ञापनपत्र पठाएर त्यस्तो माग दोहोर्याएको हो । समितिका प्रवक्ता घलेद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा तेस्रो मुलकतर्फ नभई स्वदेशतर्फ फर्काउने पहल हुनुपर्ने र भुटान सरकारबाट खोसिएको आफ्ना घरजग्गा नफर्काएसम्म शरणार्थीहरूको समस्या समाधान हुन नसक्ने उल्लेख गरेका छन् । यसैगरी, शरणार्थीहरूको समस्याको दीर्घकालीन समाधान नै घरफिर्ती भएको कुराको माग गर्दै गत बिहीबार राष्ट्रिय मेलमिलाप समितिले पनि ज्ञापनपत्र बुझाएको थियो । सोही मागलाई उल्लेख गर्दै भुटान स्वतन्त्र जनमञ्चले पनि प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ । प्रजातान्त्रिक अधिकारको माग गर्दा सरकारले दमक गरी सन् १९८९ देखि नेपालीभाषी सहितका भूटानीहरुलाई देश निकाला गरेको थियो । त्यसखाले गम्भीर मानव अधिकार उल्लंघनको अवस्थामा भुटानी शरणार्थी समस्या समाधानका लागि ल्याइएका तीन विकल्पमध्ये स्वदेशफिर्तीको पहिलो प्रावधानमाथि पहल नभएको अवस्था छ । एक्कासी पछिल्लो विकल्पका रुपमा तेस्रो मुलुक स्थानान्तरण मात्र कार्यान्वयनमा ल्याइएकाले शरणार्थीहरूको घर फिर्तीको अधिकार र मुद्दा ओझेलमा परेको शरणार्थी अधिकारकर्मी तथा बुद्धिजीवीहरूले बताउँदै आएका छन् । झापाको दमकस्थित बेलडाँगी र मोरंगको पथरीशनिश्चरेमा शरणार्थी शिविर रहेको छ । हालसम्म एक लाखभन्दा बढी शरणार्थीहरू विश्वका विभिन्न आठओटा देशमा पुनर्वास भइसकेका छन् । जसमध्ये अमेरिकामा मात्र ९० हजारभन्दा धेरै पुनर्वास भएका छन् । पुनर्वास प्रक्रियाले शरणार्थीमा परिवार विछोड गराएका कारण मानसिक तनाव भई ठूलो विचलन ल्याएको पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले जनाए ।