[caption id="attachment_47147" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

चितवन/ दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन् ।

मृतक दीपिकाकी आमा मायाँ सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर आजै देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष सङ्गीता भट्टराईले जानकारी दिए ।

शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।

उनीहरुको शव विगत छ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी सङ्घर्ष समिति नै बनाएर आन्दोलित थिए ।

पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 रासस