बुटवल/गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका–६ का २१ वर्षीय सन्तोष मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको इप्रका, बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए। प्रहरीले नक्कली नोट तयार गर्न प्रयोग हुने सामान उनको कार्यालय तथा निवासबाट बरामद गरेको हो ।
प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए ।
उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएपछि अन्तिमपटक रु एक लाखको चेक साटेर आएको पैसा तत्कालै आफूले लगेको नक्कली नोटको गड्डीसँग साट्न सफल भएका थिए ।